
रोमानिया : मञ्जुश्री संवत् २८६२औं (ता-ल्हो) अर्थात् घोडा वर्गको सोनाम ल्होछारको अवसरमा माघ महिनाभर तामाङ समुदायका विभिन्न संघ संस्थाहरूले विश्वव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ । यसै सन्दर्भमा नेपाल तामाङ घेदुङ रोमानियाको आयोजनामा जनवरी २५ तारिख बुखारेष्टको डाईमन इभेन्ट्स-२ सभा हलमा ल्होछार मनाउन लागेको हो ।
"प्रवासमा भाषा, धर्म, कला, संस्कृतिको संरक्षण नेपाल तामाङ घेदुङ रोमानियाको अभियान भन्ने मूल नारालाई आत्मसात् गर्दै'' सन् २०२३ मा स्थापना भएको संस्थाले विगतका वर्षहरूमा झैँ विधिवत् रूपमा लामा धर्म गुरुहरूद्वारा बिहान १० बजेदेखि पूजापाठ साङसेर्गेम गरिसके पश्चात् औपचारिक रूपमा हर्ष उल्लासमय पारिवारिक मैत्रीपूर्ण वातावरणमा ल्होछार कार्यक्रम आयोजना गर्न लागेको हो । रोमानियामा कर्मथलो बनाइरहेका सम्पूर्ण तामाङ तथा नेपालीहरू लाई उपस्थितिको लागि कार्यक्रमका संयोजक तथा संस्थाका अध्यक्ष फुर्साङ लामाले निमन्त्रणा गरेका छन् ।
धर्म गुरु मिग्मार लामा ड्रक्पो रेपाको प्रमुख आतिथ्यमा हुन गइरहेको कार्यक्रम उद्घोषकद्वय सुरेन्द्र लामा र सुनिता लामाले सञ्चालन गर्नेछन् । रोमनियामा रहेका स्थानीय चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति रहने महासचिव सम्झना लामाले बताइन् । नेपाली पात्रो अनुसार भने यो वर्षको सोनाम ल्होछार राष्ट्रिय पर्व माघ ५ गते सोमबार पर्दछ । गत वर्षभन्दा ल्होछार हेर्ने दर्शकहरूको बृहत् सहभागिता रहने अपेक्षासहित व्यवस्थापन र तयारीलाई तीव्र पारिएको छ ।
