
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा संघर्ष गरेर ढाल्ने बताएका छन् ।
४२औं पिस्कर शहीद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका संघर्ष’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरूकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको स्पष्ट पारे ।
अध्यक्ष ओलीले नेपालमा नेपालीका सरकार हुनुपर्छ भन्नेहरूका घर र पार्टी कार्यालय छानीछानी आगो लगाइएको, कार्यापालिका, न्यायपालिका र राष्ट्रका मुख्य संरचना तथा राष्ट्रिय उद्योगहरू जलाइएको उल्लेख गर्दै अहिले थिति र विधिको शासन नभई जथाभावी शासन चलाइएको टिप्पणी गरे ।
“अहिले दुनियाँमा भइरहेको शासनको प्रतिबिम्ब नेपालमा देख्न सकिन्छ । अहिले कसैको सम्पति खाएको छ भने पनि मुद्धा लाग्दैन, हिजो लागेका अभियोग सच्याइन्छ र चुनावाका लागि त्यस्ता मान्छेलाई हिरो बनाइन्छ’’, अध्यक्ष ओलीको भनाइ थियो, “हामी नेपालमा नेपालको सरकार बनाउन चाहन्छौं । अरुको सरकार बनाउन दिँदैनौं । बन्यो भने ढाल्छौं । यसबारे आजको नयाँ पुस्ता सचेत हुन आवश्यक छ, यो देश पुर्खाले लडेर स्वतन्त्र र सर्वभौम बनाएको देश हो । यसलाई बचाउनु हामी सबैको दायित्व हो ।’’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संगठित अपराध र सम्पति शुद्धिकरणसम्बन्धी मुद्दा फिर्ता लिन महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयमा आपत्ति जनाउँदै उनले प्रश्न गर्दै भने, “अहिले महान्याधिवक्ताको कार्यालय इतिहासकै लागि लज्जाको विषय बनेको छ । जनताको हिनामिना भएको पैसा कस्ले तिर्छ ? महान्याधिवक्ताको कार्यालयले तिर्छ ?’’
आफ्नो पार्टी इतिहासको कालदेखि राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि संघर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न उनको आग्रह थियो ।
निरंकुश पञ्चायत सरकारले सिन्धुपाल्चोकको पिस्करमा २०४० साल पुस ३० गते हत्या काण्ड गराएको घटना स्मरण गर्दै उनले शहीदको बलिदान र परिवर्तनकारी जनताको आदर्शप्रति कर्तव्यनिष्ठ भएर नयाँ लाग्नुको विकल्प नभएको बताए ।