२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

प्रधानमन्त्री ओलीले सचिवहरुसँग भने- 'सरकारलाई असफल हुन दिइँदैन, ढुक्कले काम गर्नुस्'

ADV
मध्यान्ह
२०८१ साउन १५ गते १४:४२
प्रधानमन्त्री ओलीले सचिवहरुसँग भने- 'सरकारलाई असफल हुन दिइँदैन, ढुक्कले काम गर्नुस्'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताएका छन् । 

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले प्रमुख दुई दलको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारेको बताए ।

'यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,' उनले भने । सबै मन्त्रीहरू सहभागी बैठकमा प्रधानमन्त्री ओलीले असफल हुँदैन भनेर हातमा हात बाँधेर आरामले बस्न नहुन बताए ।

'असफल भइँदैन भनेर आरामले बसेर हामी सफल हुँदैनौँ । भाग्यमा छ भन्दैमा डोकामा दूध दोएर अडिँदैन । हामीले सफलताको संकेत यस आर्थिक वर्षमा दिनुपर्छ । अर्काे आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ । यो सरकार एक्सन ओरिएन्टेड सरकार हो । देशका लागि केही गरौँ भन्ने अठोट भएको सरकार हो यो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । बिना आग्रह मूल्यांकन गरेर निर्णयमा जान्छ,' उनले भने ।

यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेहरूप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमति बमोजिम दुई वर्ष पुग्नु एक साताअघि राजीनामा दिने त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेर स्थिरताको सन्देश दिने बताए । 'यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारीहरूले ढुक्कले ठीक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिनेछ,' उनले भने । 

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाबमोजिम जनतालाई प्रभावकारी सेवा दिन, भोकमरी, भ्रष्टाचार र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध काम गर्न निर्देशन दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise