२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

सत्यवादी माविको प्रशासन तथा छात्रावास भवन शिलान्यास

shivam cement
सत्यराज सिंह
२०८२ माघ २ गते २२:०७
Shares
सत्यवादी माविको प्रशासन तथा छात्रावास भवन शिलान्यास

बझाङ : नेपाल–भारत विकास सहयोग अन्तर्गत बझाङको जयपृथ्वी नगरपालिका–११ भोपुरमा रहेको सत्यवादी माध्यमिक विद्यालयमा नयाँ विद्यालय प्रशासन तथा छात्रावास भवन निर्माणको शिलान्यास गरिएको छ । मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहद्वारा स्थापना गरिएको ऐतिहासिक विद्यालयमा शुक्रबार भारतीय दूतावास, काठमाडौंका प्रथम सचिव नारायण सिंह र जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् । 

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रथम सचिव नारायण सिंहले नेपाल–भारतबीचको सम्बन्ध ऐतिहासिक, गहिरो र सुदृढ रहेको उल्लेख गरे । उनले आगामी दिनहरूमा पनि दुवै देशबीच सहकार्य र साझेदारी अझ सुदृढ बन्दै जाने विश्वास व्यक्त गरे । शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता महत्वपूर्ण क्षेत्रमा भारत सरकारले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै यस्ता परियोजनाले स्थानीय समुदायको जीवनस्तर सुधारमा योगदान पुग्ने बताए । 

जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले स्थानीय सरकार विकास साझेदारीप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले सत्यवादी माध्यमिक विद्यालयमा निर्माण हुन लागेका प्रशासन तथा छात्रावास भवनहरू नगरकै ठूला र महत्वपूर्ण परियोजनामध्ये एक रहेको बताउँदै यसले विद्यालयको शैक्षिक वातावरण सुधार हुनुका साथै विद्यार्थीहरूलाई आवासीय सुविधामा सहजता ल्याउने विश्वास व्यक्त गरे । नगरप्रमुख बजालले आगामी दिनमा पनि यस्ता विकास परियोजनाहरू सफलतापूर्वक अघि बढाउन भारतीय दूतावासको थप सहयोग आवश्यक रहेको धारणा राखे । 

कार्यक्रममा विद्यालय परिवारले भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहलाई स्वागत गर्दै प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गरेको थियो । भ्याटसहित ९ करोड १७ लाख ७ हजार ८ सय ९२ रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवनको ठेक्का सुर्मा दिपज्योती नुरा जेभी निर्माण कम्पनीले प्राप्त गरेको छ । सम्झौताअनुसार प्रशासन तथा छात्रावास भवन निर्माण कार्य २०८३ साल मंसिर महिनाभित्र सम्पन्न गर्नुपर्नेछ ।

सम्बन्धित खबर