
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीभित्र एकता, सद्भाव र संगठनात्मक मजबुती कायम राख्न अपिल गरेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिक मान्यता दिएपछि नयाँ बानेश्वरमा आइतबार बसेको बैठकले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने निर्णय गरेको हो ।
बैठकपछि निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसका सामु गम्भीर चुनौतीहरू रहेको उल्लेख गरे । आगामी निर्वाचनलाई ध्यानमा राख्दै पार्टीलाई जनतासँग थप मजबुत रूपमा जोड्न एकतामै जोड दिइएको उनले बताए ।
‘निर्वाचन नजिकिँदै छ, जनताको भरोसा पुनः कांग्रेसतर्फ फर्काउनुपर्ने आवश्यकता छ,’ चालिसेले भने, ‘पार्टीभित्रको एकता र सद्भावलाई अझ सुदृढ बनाउँदै कांग्रेसलाई उचाइमा पुर्याउन सबैलाई हार्दिक अपिल गरिएको छ ।’
केन्द्रीय समिति बैठकले निवर्तमान केन्द्रीय सदस्यहरूलाई समेत पार्टीलाई सशक्त बनाउने जिम्मेवारीमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ । साथै, निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीको अभिभावकीय भूमिकामा रहन औपचारिक आग्रह गरिएको छ ।
प्रवक्ता चालिसेले देउवाले पार्टीलाई लामो समय नेतृत्व दिँदै पुर्याएको योगदानको उच्च मूल्यांकन गरिएको जानकारी दिए । ‘आगामी दिनमा पनि निवर्तमान सभापति देउवाको अनुभव र मार्गदर्शन कांग्रेसका लागि उपयोगी हुने विश्वास हामीले लिएका छौं,’ उनले भने ।