२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

प्रीति र अमरले कतारमा मच्चाए धमाका

shivam cement
२०८२ माघ ३ गते २०:३१
Shares
प्रीति र अमरले कतारमा मच्चाए धमाका

दोहा, कतार : शुक्रबार साँझ करिब सवा ६ बजे सांस्कृतिक कार्यक्रम सञ्चालक पुरन राजकोटी मगरले खचाखच भरिएको हलका दर्शकलाई मोबाइलको फ्ल्यास बाल्न अनुरोध गरे । एकाएक हलको बत्ती अफ भयो मोबाइलको फ्ल्यास लाइट सबैले बाले, तब नेपालबाट सांगीतिक प्रस्तुति दिन कतार आएकी भर्षटायल गायिका प्रीति आले स्टेजमा ‘झोर्ले हजुर’ भन्दै देखा परिन् । उनले कतारसम्म आएर माघ्या सकराटी (मिनाम सार ल्हेस् ५०१९)–२०२६ मनाउने अवसर मिलाइदिने आयोजक संस्था नेपाल मगर संघ, शाखा कतारलाई आभार व्यक्त गर्दै चर्चित गीत ‘पट्टकोके झोरा’मार्फत प्रस्तुति सुरु गरिन् ।

उनले झोरा पछि प्रवासिएका दाजुभाइसँग मेल खाने भन्दै ‘बामरी’ गीत गाइन् । उनले लगातार धुन सुनेर पञ्चेबाजा, रोधी घरमै गाँस र बास, हे कान्छा कौराहा, सोल्टी राजाको टुमलेट, दोहोरी ब्याटल, टुप्पी ठाडो र ब्याटल २ लगातार गाइन् । ब्याटल २ दोहोर्‍याएर गाउन दर्शकले वान्स मोर भन्दै माग गरेपछि उनले दोहो¥याएर गाइन् । दिउँसो करिब १ बजेबाट साँझसम्म प्रीतिको प्रस्तुतिमा झुम्न बसेका हजारभन्दा बढी दर्शकले गरेको प्रतीक्षा र थकानलाई उनले प्रस्तुतिमार्फत मेटाइदिइन् । प्रत्येक गीतमा दर्शक दीर्घाबाट वान्स मोर पाइरहिन् भने दर्शकले हुटिङ गर्दै प्रीतिसँगै नाचेर साथ दिए ।

मगरहरूको राष्ट्रिय प्रमुख सांस्कृतिक पर्व माघ्या सकराटीलाई थप संगीतमय बनाउन नेपालबाट आएका अर्का चर्चित लोक तथा दोहोरी गायक अमर रोका मगरले माहोललाई थप संगीतमय बनाए । केही वर्ष कतारमा नै काम गरेर नेपाल फर्किएपछि गीत संगीतमै लागेका मगरले आफ्नै रचनाका गीतहरू गाए । उनले सालैजो, जलजला पारी, नाच माया, बजाउ बजाउ बाजा पञ्चेबाजालगायतका गीत गाएर नचाए भने उनलाई दर्शकले भरपुर साथ दिए ।

नेपाल मगर सांस्कृतिक परिवारमा आबद्ध रहेका कलाकारहरूले स्वागत नृत्यसहित एरिया विभाग तथा समितिमा रहेका कलाकारहरूले सालैजो, कौराह, सोरठी, झ्याउरे, हुर्रा, भुम्या तथा अन्य संस्कृति झल्काउने एकल, सामूहिक नृत्य तथा मगर भाषा, नेपाली लोक तथा दोहोरी गीतहरूमा प्रस्तुति दिएका थिए ।

कार्यक्रम संयोजक तथा संघकी वरिष्ठ उपाध्यक्ष देवीकुमारी मगरले स्वागत मन्तव्य राखेको कार्यक्रम संघका अध्यक्ष समीर थापा मगरको सभाध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

जनजाति समुदायको परम्पराअनुसार मगर संघलाई नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध रहेका मातृसंस्थाहरूसहित तमु प्ये ल्हु संघ कतार र नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले सद्भाव प्रकट गर्दै सगुन स्वरूप (कोसेली) उपहार प्रदान गरेका थिए । कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, पूर्वअध्यक्ष तथा विशिष्ट अतिथिहरूसहित सम्पूर्ण कतारवासी मगरहरूका सांस्कृतिक वाङ राजा रमेश कनौजे मगरलाई खादा र फेटाद्वारा सम्मान गरिएको थियो ।

महासचिव पाण्डप थापा मगर र द्वितीय उपाध्यक्ष रबिना मगरले सहजीकरण गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नेपाल र नेपालीमा पश्चिमा संस्कृति हाबी भइरहेको बेला मगर संघले विदेशमा सांस्कारिक तथा सभ्य भव्य सकराटी कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गरे ।

अल ओकिरमा रहेको डिपीएस मोनार्क इन्टरनेसनल स्कुलको सभा हलमा उपस्थित सम्पूर्ण पाहुना तथा दर्शकलाई तरुलसहितको नास्ता र नेपाली परिकारको खानालेसमेत लोभ्याएको थियो । उपस्थित नेपालीहरूमध्ये मगर समुदायका मानिस परम्परागत भेषभूषामा सजिएका थिए । कार्यक्रमको प्राङ्गणलाई तोरण, बेलुन र मालाले झकिझकाउ बनाइएको थियो । मध्याह्नबाट सुरु भएको कार्यक्रमको रौनक रातको करिब ९ बजेसम्म नै चलिरह्यो ।

उत्कृष्ट व्यवस्थापन देखिएको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष समीर थापा मगरले संघले करिब २ महिनादेखि निरन्तर मिहिनेत गरेका कारण कार्यक्रम भव्य बनेको बताए । उनले संघका सल्लाहकार समितिदेखि केन्द्रीय कार्यसमिति, इकाइ समितिसहित माघ्या सकराटी कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गरे ।

सो अवसरमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक, सहयोगी व्यक्तित्वहरूसहित नेपालबाट आमन्त्रित कलाकारहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक, साहित्यिक, संघ संस्थाहरूका प्रमुख, प्रतिनिधिहरूसहित समाजका अग्रज तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा माघ्या सकराटीका बारेमा सल्लाहकार सदस्य विवेक पुलामी मगरले प्रकाश पारेका थिए । कार्यक्रममा गुल्मी सेवा समाज कतारका कलाकारहरूले पेस गरेको सोरठी गीत र नृत्यले सबैलाई मनोरञ्जन प्रदान गरेको थियो ।

सम्बन्धित खबर