
सुनसरी : राष्ट्र निर्माण दल नेपालको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम इनरुवामा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम दलका सुनसरी जिल्ला अध्यक्ष सॉकत अलीको अध्यक्षतामा सञ्चालन भएको थियो ।
प्रशिक्षण कार्यक्रममा ७० प्रतिशतभन्दा बढी युवासहित तीन सयभन्दा बढी विभिन्न जातीय समुदायका नागरिकहरूले पार्टी प्रवेश गरेका छन् । यससँगै सुनसरीका दक्षिणी पालिकाहरूमा दलको संगठनात्मक उपस्थितिलाई अझ मजबुत हुने संकेत देखिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै दलका अध्यक्ष शमीम मियाँ अन्सारीले देश गम्भीर राजनीतिक संक्रमणको चरणमा रहेको र यसको समाधानका लागि समावेशी, वैकल्पिक र राष्ट्र निर्माणमुखी राजनीतिक धार आवश्यक रहेको बताए । उनले सबै समुदायको सम्मान, पहिचान र सहभागिता सुनिश्चित नगरी समृद्ध नेपाल निर्माण सम्भव नहुने धारणा व्यक्त गरे ।
कार्यक्रमका प्रमुख प्रशिक्षक तथा दलका महासचिव एवं पूर्व मन्त्री मोहम्मद जाकिर हुसैनले पार्टीको राजनीतिक दर्शन, नीतिगत दृष्टिकोण र कार्यक्रमबारे विस्तृत प्रशिक्षण दिए । उनले राष्ट्रिय मेलमिलाप, समावेशी लोकतन्त्र, संघीयता सुदृढीकरण, महिला उम्मेदवारी अनिवार्य, धार्मिक सहिष्णुता, सुशासन, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्य–रोजगारीको प्रत्याभूति लगायतका पार्टीका मुख्य एजेन्डा बुँदाहरू प्रस्तुत गरे ।
कार्यक्रममा दलका सचिव गुरुदेव राम र कोशी प्रदेश इञ्चार्ज जफर अहमद जमालीले संगठन विस्तार, जनसरोकारका मुद्दा र आगामी राजनीतिक कार्यदिशाबारे धारणा राखे। केन्द्रीय सदस्यहरू रोजिना खातुन, कविता आले मगर, महमद हारून, किरण ठाकुर, तजम्मुल मन्सुरी, विनोद यादव, दिपेन्द्र चौधरी, इसराफिल हुसैन, इनरुवा नगर समिति सचिव जहाँगीर मन्सुरी, देवानगञ्ज पालिका समिति अध्यक्ष हारिस अन्सारी, जेनजी नेता आदित्य आचार्य र राधा कुमारी साह, एजाज मन्सरीले पनि कार्यक्रमलाई सम्बोधन गरे ।
जेनजी युवा आदित्य आचार्यले सुनसरी–२ का लागि आफ्ना उम्मेदवारी घोषणा गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे ।
कार्यक्रमको समापनमा सहभागीहरूले सुनसरीमा राष्ट्र निर्माण दलको संगठनात्मक आधार थप सुदृढ भएको र दल वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित हुने निष्कर्ष निकालेका छन् ।