
जनकपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफू करिब चार वर्ष काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि जनताका गम्भीर समस्या समाधान गर्न नसकेर ‘मुकदर्शक’ बन्नुपरेको बताएका छन् ।
सोमबार जनकपुरमा आयोजित रास्वपाको घोषणा सभालाई मैथली भाषामा सम्बोधन गर्दै उनले माइतीघर मण्डलामा भएका उखु किसानदेखि मिटरब्याज पीडितसम्मका आन्दोलनमा प्रत्यक्ष सहयोग गर्न नसकेको स्वीकार गरे ।
‘म करिब चार वर्ष काठमाडौंको मेयरको रुपमा बसें । दैनिक माइतीघर मण्डलामा उखु किसानको आन्दोलन भयो, मिटरब्याज पीडितको आन्दोलन भयो । तर हामी मुकदर्शक भएर बस्नुपरेको थियो,’ उनले भने ।
मेयरको हैसियतमा धेरै गर्न नसकेको स्वीकार गर्दै बालेनले अब संघीय सरकारमा पुगेर परिवर्तन गरेर देखाउने दाबी गरे । ‘काठमाडौंको मेयरको रुपमा धेरै गर्न सकिनँ । तर काठमाडौंमै रहेर ३५ पालिकामा एम्बुलेन्स पुर्याउन सकें । संघ सरकारमा गएँ भने कति गर्न सकिएला ?’ भन्दै उनले प्रश्न गरे ।
उनले मधेशको छोरा प्रधानमन्त्री बन्ने कारणले मात्र नभई सही मान्छेहरू नेतृत्वमा आउने भएकाले घन्टीमा भोट हाल्न आग्रह गरे । ‘मधेशीको छोरा प्रधानमन्त्री बन्नेवाला भएर घन्टीमा भोट हाल्ने होइन । सही मान्छे आउनेवाला छन्, सही समय आउनेवाला छ, सही सरकार आउनेवाला छ, त्यसैले घन्टीमा भोट हाल्नुस्,’ उनले भने ।
आफ्नो पहिलो राजनीतिक सभामा मैथिली भाषामा सम्बोधन गर्दै बालेनले प्रदेशलाई बलियो बनाउनुपर्नेमा जोड दिए । ‘काठमाडौंमा अधिकार माग्न होइन, घुम्न जानुपर्ने अवस्था बनाउनुपर्छ। प्रदेश बलियो बन्यो भने मात्रै देश बलियो हुन्छ,’ उनले भने ।