२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

जलवायु परिवर्तन र सिमसार क्षेत्र

ADV
२०८१ साउन १६ गते ०६:२०
जलवायु परिवर्तन र सिमसार क्षेत्र

–के.बी. बस्नेत

विश्व तापमान हुने परिवर्तन प्राकृतिक र मानवीय कारणले हुने हो । विशेषतः खनिज तेलको खपत तीव्र रूपले बढ्नाले विश्वको तापक्रम पनि बढिरहेको छ । जसबाट यहाँको वातावरणमा नकारात्मक प्रभाव परेको छ । आज विश्वमा वातावरणीय प्रदूषण दिनदिनै बढिरहेको छ । तर, विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी हुँदा पनि विश्वमा वातावरणीय विनाश न्यूनीकरणसम्बन्धी सहमति हुन सकेको छैन । 

वस्तुतः विश्वमा वातावरणीय विनाश हुनुका प्रमुख कारण विकसित देशहरूमा विद्यमान औद्योगिक तथा अन्य विकासमूलक क्रियाकलापहरू नै हुन । यद्यपि, हालसम्म पनि यिनीहरूको रोकथाम गर्न सकिएको छैन । विश्वमा विद्यमान वातावरणीय विनाशको प्रभाव नेपालमा पनि परेको छ । वास्तवमा दुई ठुला छिमेकी राष्ट्रहरू चीन र भारतमा औद्योगिक तथा अन्य विकासका क्रियाकलापहरू तीव्र रूपले बढ्नाले यहाँको वातावरण विनाशमा सघाउ पुगेको छ । परन्तु, यस सम्बन्धमा हालसम्म पनि कुनै वार्ता नभएकोले यहाँ वातावरण विनाश न्यून गर्न सकिएको छैन ।

पृथ्वीमा रहेका विभिन्न तत्त्वहरूमध्ये कुनै एक मात्र घटबढ भए पनि अरूमा प्रभाव पर्छ । हाल विश्वमा भइरहेको पर्यावरणमा असन्तुलनले मानवलगायत विभिन्न प्राणीहरूको क्रियाकलापहरूमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पर्छ । तसर्थ, हाल भइरहेको र भविष्यमा हुने वातावरणीय विनाशले यस धरतीमा रहेका विभिन्न प्राणी, वनस्पति र समग्रमा सम्पूर्ण मानव जातिको अस्तित्व नै सङ्कटमा रहने सम्भावना छ । पर्यावरण सन्तुलनका लागि सिमसारले महत्त्वपूर्ण भूमिका खेल्छ । जुन एक रसिलो भूमि हो, जहाँ जमिन लुक्दैन र पानी सुक्दैन । यसको मुख्य दुई विशेषता भनेको पानी र जमिन हो । सिमसारलाई सबैभन्दा बढी उत्पादनशील पारिस्थितिक प्रणाली मानिन्छ । यसले भूक्षय न्यूनीकरण, पानी शुद्धीकरण एवम् भण्डारण, बाढीको पानी सङ्कलन तथा रोकथाम र नदी तथा खोलाको पानीको बहाव नियन्त्रण गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । 

सिमसारले वातावरण सन्तुलन गर्ने काममा पनि महत्त्वपूर्ण भूमिका खेल्छ । जसलाई जोगाइराख्न वन जङ्गलले महत्त्वपूर्ण भूमिका खेल्छ । तर, दुःखको कुरा त के छ भने हाल नेपालको धेरै वन विनाश र अतिक्रमण भएको छ । पछिल्लो दुई वर्षको अवधिमा यहाँ झन्डै ९० हजार हेक्टर वन क्षेत्र अतिक्रमित भएको छ । यही कारणले यहाँका केही सिमसार लोप भएका छन् भने केही लोप हुने अवस्थामा छन् । फलतः वासस्थानको अभावमा यहाँका केही पशुपक्षीहरू लोप भएका छन् भने केही सङ्कटमा परेका छन् । 

साधारणतः दलदलयुक्त ताल तलैया, नदी, खोला, जलाशय आदिलाई सिमसार मानिन्छ । जसमा जलीय प्राणी, पशुपक्षी आदि मात्र नभई मानव अस्तित्व पनि निर्भर रहन्छ । सिमसार प्राणीहरूको अस्तित्वसँग मात्र नभई धर्म र संस्कारसँग पनि आबद्ध छ । उदाहरणको लागि थारु समुदायको पिटरहुवा र भोजमा आवश्यक पर्ने माछा, घोगो र गँगटो सिमसारबाट प्राप्त हुन्छ । राष्ट्रिय ताल संरक्षण विकास समितिको तथ्याङ्कअनुसार नेपालमा पाँच हजार तीन सय ५८ सिमसार क्षेत्रहरू छन् । जसमध्ये समुद्री सतहदेखि पाँच मिटरभन्दा मुनि अवस्थित २,७१२ छन् भने २,२२७ तीन हजार मिटरभन्दा माथि अवस्थित छन् । नेपाल सरकारको कृषि विभागको एक प्रतिवेदनअनुसार यहाँ एक सय ६३ सिमसार क्षेत्र तराई क्षेत्रमा र ७९ सिमसार क्षेत्र हिमाली र पहाडी क्षेत्रहरूमा छन् । 

वातावरण विनाशको कारण नेपालमा सिमसार क्षेत्रहरूको सङ्ख्या दिन प्रतिदिन घटिरहेको छ । किनभने यिनीहरू कतै खेत त कतै घडेरी माछा पोखरीको रूपमा सीमित भएका छन् । यहाँका कतिपय ठाउँहरूमा अत्यधिक चरण, जडीबुटी सङ्कलन, पानीको प्रयोग आदिले गर्दा सिमसार क्षेत्रहरूको धेरै नै दोहन भएको छ । बढ्दो प्रदूषणले एकातिर यहाँका सिमसार क्षेत्रहरू ग्रस्त छन् भने अर्कोतिर यहाँको जैविक विविधतामा ह्रास आएको छ । यहाँका केही ठाउँहरूमा भूमि अतिक्रमण, भूक्षय र बाढी पहिरो जस्ता दैवी प्रकोपहरूले सिमसार क्षेत्रहरूमा नकारात्मक प्रभाव परेकोले चराचुरुङ्गीहरूले आफ्ना वासस्थान गुमाई अन्यत्र सर्नुपर्ने भएको छ । 

वर्तमान समयमा नेपालका केही स्थानीय तहहरूले आसपासका ताललाई माछा पालनका लागि ठेक्कामा दिएकाले चरम दोहन भएको छ । किनभने तालहरूमा माछा पाल्दा त्यहाँ ठेकेदारहरूले नाइट्रोजन, फस्फोरस, भ्रुन आदि हाल्छन् । जसको कारण एकातिर स्थानीय प्रजातिका माछा र जलचरहरू लोप हुने अवस्थामा छन् भने अर्कोतिर यहाँको जैविक विविधतामा पनि नकारात्मक प्रभाव परेको छ । यति मात्र नभई यहाँका स्थानीय तालहरूको पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव पर्दा रैथाने जातका चराचुरुङ्गी तथा वनस्पति लोप हुने अवस्थामा छन् । 

जलवायु परिवर्तनका दृष्टिकोणबाट नेपाल विश्वको चौधौँ जोखिमयुक्त देश हो । यहाँका हिमनदीहरू वर्षेनी ६७ मिटरको दलले खुम्चिदै छन् । साथै, यहाँका हिमतालहरू फुटेर ठुला बाढी पहिरो आउने सम्भावना भएकाले सिमसार क्षेत्रहरू सुक्ने र पुरिने सम्भावना प्रबल छ । जसको फलस्वरूप यहाँका पशुपक्षीको वासस्थान साँघुरो हुने, क्षय हुने र अन्त्यमा विलीन हुने सम्भावना बढेको छ । यसबाट स्थानीय जनताको जीवनमा नकारात्मक प्रभाव पर्नेछ । केही वर्षयता नेपालका सिमसार क्षेत्रहरू नासिने अवस्थामा छन् । परन्तु, हालसम्म पनि यिनीहरूका संरक्षण कार्यहरू प्राथमिकतामा परेका छैनन् । यथार्थतः सिमसार क्षेत्र प्रकृति प्रदत्त उपहार हो । जसको संरक्षणको लागि एकातर्फ भूमि तथा वनजङ्गलको सुरक्षाको आवश्यकता छ भने अर्कोतर्फ, सम्बन्धित व्यक्ति तथा निकायहरूको सक्रिय सहयोगको उत्तिकै जरुरी छ ।

ADVADV

सम्बन्धित खबर

Advertise