२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

युवा शक्तिले खोजेको व्यवसायिक सीप

shivam cement
२०८२ असोज २ गते ०६:००
युवा शक्तिले खोजेको व्यवसायिक सीप

–राजन के. सी.

नेपालमा बेरोजगार युवा–युवतीहरूको संख्या ठूलो छ । काम गर्ने उमेरका धेरैजसो युवाले आफ्नो क्षमताअनुसार अवसर नपाउँदा उनीहरू वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका छन् । यसले देशभित्र श्रम शक्ति कमी मात्र होइन, विदेशी रोजगारीमा निर्भरता बढाउँदै लगेको छ । यस्तो अवस्थामा सिपमूलक तालिम युवालाई आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना गर्ने र राष्ट्रलाई आर्थिक रूपमा सबल बनाउने महत्वपूर्ण आधार बन्न सक्छ ।

सिपमूलक तालिम व्यवसायीहरूको प्रमुख जिम्मेवारी भनेको युवालाई आवश्यक सीप सिकाएर उनीहरूलाई दक्ष जनशक्ति बनाउनु हो । तर नेपालमा तालिम सञ्चालन अझै व्यवस्थित, दिगो र गुणस्तरीय बन्न सकेको छैन । कतिपय व्यवसायीहरूले यसलाई ‘मौसमी खेती’ जस्तो अल्पकालीन÷अस्थायीरूपमा मात्र सञ्चालन गर्छन् । दाताको मुख मात्र ताकेर तालिम सञ्चालन गर्ने अभ्यासले व्यावसायिकता र दिगोपन सुनिश्चित गर्न सकिन्न ।

तालिम व्यवसायीहरूले आफ्नो कार्यलाई कागजी औपचारिकतामा मात्र सीमित नगरी, नियमित उपस्थिति, निरन्तर प्रतिबद्धता र गुणस्तरीय तालिम प्रवाहलाई आफ्नो मूल मूल्यका रूपमा आत्मसात् गर्नुपर्छ । यसरी मात्र तालिम क्षेत्रलाई विश्वसनीय, परिणाममुखी र टिकाउ बनाउन सकिन्छ ।

नेपाल सरकारका सम्बन्धित निकायहरूले सिपमूलक तालिमलाई अझै पनि गम्भीर प्राथमिकताका रूपमा लिएको देखिँदैन । युवालाई आत्मनिर्भर बनाउन सक्ने यो क्षेत्रप्रति राज्यको ध्यान नपुग्दा तालिम व्यवसायीहरू दातामुखी तालिममा निर्भर हुनुपरेको छ । न त पर्याप्त नीतिगत स्पष्टता, न त समन्वय र अनुगमनको मजबुत संरचना विकास भएको छ । युवा शक्तिलाई सिपयुक्त बनाउन सक्ने सुवर्ण अवसर सरकारले आफ्नै ढिलासुस्ती र उदासीनताका कारण गुमाइरहेको छ । यदि आजैदेखि नीति निर्माण तहमा सिपमूलक तालिमलाई प्राथमिक क्षेत्रका रूपमा मान्यता दिइएन भने बेरोजगारीको दर झन् बढ्नेछ र युवा शक्ति अझै परनिर्भर बन्न बाध्य हुनेछ ।

सिपमूलक तालिमसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न सबै सरोकारवालाले अब सोच परिवर्तन गर्न जरुरी छ । तालिम प्रदायक व्यवसायीको कागजी औपचारिकतासँगै आवश्यक न्यूनतम भौतिक पूर्वाधार र मापदण्डअनुरूप गुणस्तरीय तालिम सञ्चालन गर्ने संस्कृतिको सुरुवात गर्नुपर्छ । यसले मात्र युवाहरूलाई वास्तविक सीप दिलाउने र तालिम क्षेत्रको प्रतिष्ठा उच्च बनाउनेछ ।

यदि हामीले आजैदेखि व्यावसायिक र दिगो तालिम प्रणालीलाई प्राथमिकता दिन सकेमा, हाम्रो युवा शक्ति केवल रोजगारी खोज्ने होइन, बरु रोजगारी सिर्जना गर्ने अवस्थामा पुग्नेछ । यसले व्यक्तिगत जीवनस्तर सुधार्ने मात्र होइन, राष्ट्रलाई आत्मनिर्भर र समृद्ध बनाउन पनि टेवा पुर्‍याउनेछ ।

(लेखक के. सी. सिपमूलक तालिम व्यवसायी हुन् ।)

ADV

सम्बन्धित खबर

Advertise