–आर.सी. कोइराला
नेपालमा हालै सम्पन्न भएको जेनजी आन्दोलन नेपाली राजनीति र समाजमा एउटा महत्वपूर्ण मोडको रूपमा आएको छ । यो आन्दोलन मुख्यतः युवापुस्ताले अगुवाइ गरेको हो, जसको मूल उद्देश्य भ्रष्ट्राचारको अन्त्य, पारदर्शी शासन र प्रभावकारी सुसासन सुनिश्चित गर्नु हो । जेनजी आन्दोलनले नेपालको राजनीतिक, सामाजिक र कूटनीतिक दिशाबारे गम्भीर प्रश्न खडा गरेको छ । भ्रष्ट्राचारविरुद्धको हुंकार र सुशासनको मागले नेपाली जनमानसमा नयाँ चेतना जगाएको छ ।
यो आन्दोलन केवल असन्तोषको विस्फोट मात्र होइन, नेपालको राजनीतिक संस्कृति परिवर्तनको चेतावनी हो । यसले सरकारलाई जवाफदेही र उत्तरदायी बनाउन दबाब सिर्जना गरेको छ । यद्यपि, तत्कालीन क्षति पीडादायी छ, दीर्घकालीन दृष्टिले यसले नेपाली लोकतन्त्रलाई अझ सबल, पारदर्शी र युवा–मैत्री बनाउने संकेत देखाएको छ । शासन सम्हाल्ने एक व्यक्तिको अहंकारका कारण कुनै देश कसरी बर्बाद हुन्छ भन्ने अब अहिलेको पुस्ताले इतिहास पढ्न आवश्यक छैन– नेपालमा भदौ २३ र २४ गते दुई दिनमै सबै शासकीय संरचना ध्वस्त भएका छन् । नेपाल राज्यका तीन अंग– कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका भौतिक संरचना जलेर नष्ट भएका छन् । नेपालका इतिहासदेखि संचित सबै शासकीय अभिलेखहरू धुवाँ बनेर उडेका छन् ।
आन्दोलनको पृष्ठभूमि र स्वरूप
नेपालमा दशकौँदेखि राजनीतिक अस्थिरता, सत्ता–स्वार्थमा आधारित गठबन्धन, र सार्वजनिक स्रोतको दुरुपयोगले नागरिकहरूमा गहिरो असन्तोष बढाउँदै आएको थियो । विशेषगरी जेनजी पुस्ता जसले लोकतन्त्रको उपज देखेको तर यसको प्रतिफल वास्तविक जीवनमा महसुस गर्न नसकेको अनुभूति गरेको थियो, अन्ततः सडकमा उत्रिन बाध्य भयो ।
युवापुस्ताले नेतृत्व गरेको यस आन्दोलनले पारदर्शिता, जवाफदेहिता र सशक्त शासन व्यवस्थाको माग गर्यो । शासकीय संरचनामा वर्षौँदेखि हालीमुहाली गर्ने नेताहरूलाई आन्दोलनकारीले मुख्य निशाना बनाएर आक्रमण गरेका थिए । यसका कारण धेरै नेताहरू घाइते समेत भएका छन् ।
यो आन्दोलन निर्माण गर्न डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालको व्यापक प्रयोग भयो । स्वतःस्फूर्त रूपमा हजारौँ युवाहरू सडकमा उत्रिए । आन्दोलनकारीहरूले भ्रष्ट्राचारविरुद्ध शक्तिशाली आवाज उठाउँदै राष्ट्रिय एजेन्डा निर्माण गरे । यी घटनाहरूले केवल आन्दोलनलाई होइन, राज्यको विश्वसनीयतालाई समेत चुनौती दिएका छन् ।
सरकारले प्रारम्भमा आन्दोलनलाई सामान्य असन्तोषका रूपमा लिएको देखियो । तर आन्दोलनले व्यापक जनसमर्थन पाउन थालेपछि सरकारले केही हदसम्म संवाद र आश्वासन दिने प्रयास गर्यो । यद्यपि केही स्थानमा अनावश्यक बल प्रयोग, धरपकड र गोली चलाउने अधिकार प्रत्यायोजनले आन्दोलन झन उग्र बन्यो । सरकारले युवा शक्तिको आँकलन गर्न नसक्नु अर्को दुर्भाग्य बन्यो । कतिपय सत्ताधारी मन्त्री, पूर्वमन्त्री तथा सभासदहरूको घरबाट नगद रकम र बहुमूल्य धातु फेला परेपछि आन्दोलन अझ भावनात्मक र व्यापक बन्दै गयो ।
आन्दोलनका क्रममा केही अमूल्य मानव जीवनको क्षति, सयौँ घाइते, र सार्वजनिक सम्पत्तिमा नोक्सानी भएको तथ्यहरू उजागर भएका छन् । ५० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भइसकेको छ भने ४०० भन्दा बढी विभिन्न अस्पतालहरूमा उपचाररत छन् । यो क्षति राज्यको दमन र आन्दोलनको तीव्रता दुवै कारणले भएको देखिन्छ । मृतक र घाइतेहरूलाई न्याय र उचित क्षतिपूर्तिको माग अझै पनि प्रमुख एजेन्डा बनेको छ ।
सम्भावित भविष्यको राजनीति
जेनजी आन्दोलनले नेपाली राजनीतिमा केही महत्वपूर्ण संकेतहरू दिएको छ । यसले पुरानो पुस्ताको निराशाजनक शासनशैलीले युवाहरूमा वैकल्पिक नेतृत्वप्रतिको आस्था बढाएको छ । अब युवा पुस्ता केवल मतदाता मात्र नभई नीतिनिर्माणमा प्रत्यक्ष भूमिका खोज्नेछन् भन्ने देखाएको छ । यसले पारदर्शिता, जवाफदेहिता र डिजिटलाइजेशनमार्फत राज्य संयन्त्र सुधार्नुपर्ने माग तीव्र भएको छ । परम्परागत दलहरूले जनताको आवाज नसुनेमा जेनजी बाट नयाँ राजनीतिक शक्ति उदाउने सम्भावना बलियो देखिन्छ ।
यद्यपि, नेपाल भूराजनीतिक दृष्टिले संवेदनशील क्षेत्रमा पर्दछ, जसका कारण विदेशी शक्तिहरू सक्रिय हुने सम्भावना उच्च रहन्छ । छिमेकी मुलुकहरू (भारत र चीन)ले आफ्ना रणनीतिक स्वार्थअनुसार हस्तक्षेप गर्न सक्ने जोखिम छ । पाश्चात्य मुलुकहरू र अन्तर्राष्ट्रिय निकायहरूले लोकतन्त्र, मानवअधिकार र सुशासनको नाममा आफ्नो प्रभाव जमाउने प्रयास गर्न सक्छन् । यदि आन्तरिक राजनीति कमजोर र विभाजित रह्यो भने विदेशी चलखेल अझ बढ्ने निश्चित छ ।
जसमा नेपालको भविष्य केवल राजनीतिक नेतामाथि निर्भर छैन । सम्पूर्ण नेपाली समाजको सचेत भूमिका अत्यावश्यक छ । युवाको जागरणलाई निरन्तरता आन्दोलनलाई अल्पकालीन भावनामा सीमित नगरी दीर्घकालीन सुधारमा रूपान्तरण गर्नुपर्ने आवश्यकता छ । भ्रष्टाचार र अनियमितताविरुद्ध निरन्तर दबाब सिर्जना गर्न नागरिक समाज, मिडिया र सरोकारवालाहरूले सक्रिय भूमिका खेल्नुपर्छ । विभाजनकारी राजनीति र विदेशी हस्तक्षेपबाट देशलाई बचाउन सबै नेपाली एकजुट हुनुपर्छ । कर्मचारीतन्त्र, न्यायपालिका, प्रहरी, शिक्षा, स्वास्थ्य जस्ता संवैधानिक तथा सार्वजनिक संस्थाहरूलाई स्वतन्त्र, पारदर्शी र जवाफदेही बनाउन निरन्तर दबाब आवश्यक छ ।
निष्कर्षमा
जेनजी आन्दोलन केवल असन्तोषको विस्फोट होइन, नेपालको राजनीतिक यात्राको नयाँ सुरुवात हो । यसले पुराना राजनीतिक संरचनालाई चुनौती दिएको छ र भावी नेपालको रुपरेखा युवा पुस्ताको हातमा सुम्पिएको छ । विदेशी चलखेलको सम्भावना रहँदाहुँदै पनि, सम्पूर्ण नेपाली एकजुट भएर राष्ट्रहितमा अग्रसर भए आत्मनिर्भर, पारदर्शी र जवाफदेही लोकतान्त्रिक नेपाल निर्माण सम्भव छ ।