२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

पुरानै ढर्राको राजनीति अब चल्दैन : खनाल

shivam cement
विनोद निगम
२०८२ माघ १४ गते १३:१७
Shares
पुरानै ढर्राको राजनीति अब चल्दैन : खनाल

पश्चिम नवलपरासी : पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनालले मंगलबार बर्दघाटमा पत्रकार सम्मेलन गरी आफ्नो राजनीतिक यात्रा, चुनावी दृष्टिकोण र विकाससम्बन्धी प्राथमिकता सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनमा खनालले आफू २०४० सालदेखि नवलपरासीको माटोसँग जोडिएर सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएको बताए । करिब चार दशक लामो राजनीतिक यात्रामा उनी २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसको प्रदेश महामन्त्रीका रूपमा पार्टी संगठन मजबुत बनाउन भूमिका खेलेको उल्लेख गरे ।

आफ्नो विगतको भूमिकाप्रति आत्मालोचना गर्दै खनालले सत्ताको केन्द्रमा रहँदा पनि जनअपेक्षा पूरा गर्न नसकिएको स्वीकार गरे । “म पदमा हुँदा व्यक्तिगत रूपमा सुरक्षित थिएँ, तर देश र नवलपरासी सुरक्षित थिएन,” उनले भने । पछिल्ला वर्षहरूमा बढ्दो भ्रष्टाचार, राजनीतिक अस्थिरता र निराशाले आफूलाई गम्भीर आत्ममन्थन गर्न बाध्य बनाएको उनको भनाइ थियो ।

भदौ २३–२४ को आन्दोलनका क्रममा युवापुस्ताबाट उठेका ‘नो भोट’ र ‘नेपो बेबी’ जस्ता नाराले परम्परागत राजनीतिक अभ्यासप्रति जनताको असन्तुष्टि उजागर गरेको उल्लेख गर्दै खनालले त्यही चेतनाले आफूलाई नयाँ राजनीतिक विकल्प रोज्न प्रेरित गरेको स्पष्ट पारे । परिवर्तन नारामा सीमित नभई व्यवहारमै देखिनुपर्ने उनको जोड थियो ।

रास्वपाबाट उम्मेदवारी दिनुको औचित्यबारे बोल्दै खनालले ‘घण्टी’ चुनाव चिह्नलाई भ्रष्टाचार, सिन्डिकेट र कुशासनविरुद्धको सामूहिक चेतावनीको प्रतीकका रूपमा व्याख्या गरे । “घण्टी बज्नु भनेको गलत अभ्यासविरुद्ध आवाज उठाउनु हो,” उनले भने ।

खनालले आफ्नो चुनावी एजेन्डामा औद्योगिक विकासलाई मुख्य प्राथमिकतामा राख्दै स्थानीय स्रोत र साधनको सदुपयोगमार्फत रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । कृषि आधुनिकीकरण, व्यापार व्यवसायमैत्री वातावरण, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच विस्तारलाई पनि उनले प्रमुख कार्यदिशाका रूपमा अघि सारे ।

नवलपरासी अपार सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै खनालले राजनीतिक इच्छाशक्ति, पारदर्शिता र जवाफदेहितामार्फत जिल्लालाई आर्थिक तथा सामाजिक रूपान्तरणको नयाँ चरणमा लैजान सकिने दाबी गरे । “अब विकास पुरानै ढाँचामा होइन, नयाँ सोच र नयाँ अभ्यासबाट अघि बढ्नुपर्छ,” उनले भने ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले खनालको राजनीतिक परिवर्तन, विगतको भूमिकाप्रति आत्मालोचना र भावी कार्ययोजनाबारे जिज्ञासा राखेका थिए । जवाफमा खनालले जनताको विश्वास जित्ने गरी इमान्दार र परिणाममुखी काम गर्ने प्रतिबद्धता दोहोर्‍याए ।

सम्बन्धित खबर