
नवलपरासी : नवलपरासी सदरमुकाम परासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार सम्पर्क कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा पार्टीका केन्द्रीय तथा स्थानीय नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका उपसभापति डि.पी. अर्यालले देशमा बढ्दो राजनीतिक निराशा, सुशासनको अभाव र नागरिक विश्वासको संकटका कारण वैकल्पिक राजनीतिको आवश्यकता बढेको बताए । उनले रास्वपा सत्ताकेन्द्रित नभई नागरिक–केन्द्रित राजनीतिमा विश्वास गर्ने पार्टी भएको दाबी गरे ।
‘जेन–जी आन्दोलनले खोजेको सुशासन र देश परिवर्तनको बाटो रास्वपाको राजनीतिमार्फत सम्भव छ,’ अर्यालले भने । बालेन शाह वा रवि लामिछाने एक्लैले मात्र सुशासन सम्भव नहुने उल्लेख गर्दै उनले त्यसका लागि रास्वपालाई संसदीय बहुमत दिन मतदातासँग आग्रह गरे ।
नवलपरासी निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार विक्रम खनालले पुराना राजनीतिक दलहरू भ्रष्टाचारमा लिप्त रहँदै सुशासन कायम गर्न असफल भएको आरोप लगाए । उनले लोकतन्त्र मतदानमा मात्र सीमित नहुने भन्दै जनताको आवाज नीति निर्माण प्रक्रियामा प्रतिबिम्बित हुनुपर्ने बताए ।
त्यसैगरी, नवलपरासी निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार नरेन्द्र गुप्ताले लोकतन्त्र र नागरिक अधिकारको सुनिश्चितता आवश्यक रहेकोमा जोड दिए । ‘अबको लोकतन्त्रमा आफ्ना माग राख्दा नेपाली जनताले गोली खानु नपरोस्,’उनले भने ।
कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी रास्वपामा प्रवेश गर्नेहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नवप्रवेशीहरूले पार्टीको पारदर्शी कार्यशैली, युवा सहभागिता तथा सुधारमुखी एजेन्डाका कारण आफूहरू आकर्षित भएको बताए ।
स्थानीय अगुवा, बुद्धिजीवी, युवा तथा महिलाको सहभागितासँगै रास्वपाले पश्चिम नवलपरासीमा संगठन विस्तारलाई तीव्र बनाएको जनाएको छ । पार्टीका अनुसार परासीमा सम्पर्क कार्यालय स्थापना गर्नु आगामी निर्वाचनलाई लक्षित रणनीतिक कदम हो ।