२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

गाउँमा मतदाता, सहरमा उम्मेदवार

shivam cement
जीवन शर्मा
२०८२ माघ १९ गते ०६:४०
Shares
गाउँमा मतदाता, सहरमा उम्मेदवार

काठमाडौं : गाउँमा कार्यकर्ता र मतदाता उम्मेदवारको स्वागतका लागि कुरिरहेका छन् । उम्मेदवार भने अझै सहरमै केन्द्रित छन् । काठमाडौं, विराटनगर, पोखरालगायत सहरका अधिकांश पार्टी प्यालेस र क्याफे यतिबेला राजनीतिक कार्यक्रमले निकै व्यस्त छन् । दिनमै फरकफरक राजनीतिक दलका चुनावी कार्यक्रम हलैपिच्छे भइरहेका छन् । यसले देशभरका मतदाता सहरमा बढी छन् भन्ने संकेत गरेको छ । 

गत माघ ६ गते उम्मेदवारी मनोनयन गरेर सदरमुकाममा केही नेता कार्यकर्तासँग सामान्य भेटघाटपछि अधिकांश उम्मेदवार काठमाडौं केन्द्रित भएका हुन् । पार्टीका शीर्ष नेताहरू आफ्नो निर्वाचन क्षेत्रको प्रारम्भिक सर्भेक्षण गरेर थप रणनीति बनाउन व्यस्त रहँदा उम्मेदवार पनि आफ्ना क्षेत्रका सहरमा बस्ने मतदातासँगको संवादमा लागेको नेताहरूले बताएका छन् । निर्वाचन आयोगले फागुन ४ पछि मात्रै औपचारिक चुनावी अभियानको समयसीमा तोकेपछि दलहरू सहर केन्द्रित मतदाता भेटघाट, चुनावी रणनीति, आर्थिक तथा सचिवालय व्यवस्थापन, टिकट नपाएर रिसाएका नेताहरू फकाउनेलगायत काममा उम्मेदवार व्यस्त छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा एक हप्ताको अभियान सकेर काठमाडौं आएका नेपाली कांग्रेसका सभापति गगन थापा देशभरको चुनावी रणनीति बनाउन व्यस्त रहेको कांग्रेसले जनाएको छ । 

त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि झापा–५ मा आफ्नो चुनावी क्षेत्रका मदतादामाझ एकपटक पुगेर काठमाडौं फर्किएसँगै व्यवस्थापकीय पाटोमा काम गर्दै छन् । नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपालगायत सबै दल चुनावी व्यवस्थापकीय पक्षमा लाग्दै गर्दा उम्मेदवार पनि आन्तरिक व्यवस्थापन र सहर केन्द्रित मतदातासँग व्यस्त छन् । आन्तरिक व्यवस्थापनसँगै उनीहरूलाई पार्टीको सम्बन्धित जिल्ला–काठमाडौं सम्पर्क समितिले गरेका कार्यक्रममा समेत सम्बोधन गर्न भ्याई नभ्याइ छ । कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओली सम्पर्क समितिले गरेका अधिकांश कार्यक्रममा पुग्ने गरेका छन् ।   

पार्टीका तल्लो तहका कार्यकर्ताले उम्मेदवारलाई चाँडो गाउँ पस्न दबाब बढाए पनि निर्वाचन आयोगले चुनावी कार्यक्रमको औपचारिक समय फागुन ४ पछि मात्रै दिएको छ । फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको व्यापक तयारीमा जुटेका दल र तीनका उम्मेदवारहरू निर्वाचन आचारसंहिता पालना गर्दै आन्तरिक व्यवस्थापनमा लागेकाले अझै गाउँ केन्द्रित भइनसकेको बताउँछन् । ७७ वटै जिल्लाका नागरिक सहर केन्द्रित छन् । पढाइ, रोजगारी र पारिवारिक बसाइँलगायत कारणले अस्थायी बसोबास मुख्य सहरमा बनाएका जिल्लाका मतदातासँग अनौपचारिक भेटघाट, अन्तत्र्रिmया गर्ने, सहयोग माग्ने अभियानमा उम्मेदवार जुटेका हुन् । सबै पार्टीका सम्बन्धित जिल्ला–काठमाडौं सम्पर्क समितिहरूले  त्यस्ता भेटघाटका कार्यक्रमको संयोजन गर्ने गरेका छन् । देशभरका कम्तीमा १५ लाख मतदाता काठमाडौंमा छन् । त्यस्तै, पोखरा, विराटनगर, वीरगन्ज, चितवन, हेटांैडा, नेपालगन्ज, बुटवल, सुर्खेतलगायतका सहरी क्षेत्रमा पहाडी र भित्री मधेशका मतदाता अस्थायी बसोबास गर्छन् । उनीहरूलाई उम्मेदवारले मतदानका लागि चुनावमा गाउँ लैजाने योजना बनाइरहेका छन् । उम्मेदवारहरू आफ्नो निर्वाचन क्षेत्र छाडेर भोट माग्न र आन्तरिक व्यवस्थापनको पक्षलाई चुस्त बनाउन लागेको नेताहरूले बताएका छन् । 

ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका सबैजसो पार्टीका सम्पर्क समितिले चुनावी कार्यक्रम गरिसकेका छन् । नेपाली कांग्रेस ओखलढुंगाले आफ्ना उम्मेदवारलाई जिताउन जिल्लाबाहिरका ठुला सहर पोखरा, काठमाडौं र इटहरिमा औपचारिक कार्यक्रम सम्पन्न गरिसकेको जिल्ला सभापति तेजेन्द्र खनालले बताए । एमाले र नेकपाले समेत काठमाडौंमा चुनाव लक्षित कार्यक्रम धमाधम गरिरहेका छन् । सहरका मतदातालाई गाउँ फर्काउन यातायात, प्रचारप्रसारसहितका रणनीति तय गर्न सचिवालय, चुनावी खर्चलगायतका व्यवस्थापकीय पक्षमा उम्मेदवारहरूले काम गरिरहेको नेताहरूले जानकारी दिए । त्यस्तै, घोषणापत्र तयारीको मागसमेत तीव्रताका साथ भइरहेको उनीहरूको भनाइ छ ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रारम्भिक चरणमा सहर र सदरमुकाममा रहेका कार्यकर्ता र  मतदातालाई भेट्ने, आवश्यक जिम्मेवारी दिने, निर्वाचन पूर्वतयारीसम्बन्धी व्यवस्थापकीय काम गर्ने काम भइरहेको बताए । ‘कतिपय उम्मेदवारहरू एक चरण गाउँ घुमेर थप रणनीतिका लागि सदरमुकाम केन्द्रित भएका छन्,’ उनले भने । निर्वाचन आयोगले चुनावी आमसभा तथा प्रचारका लागि तोकेको फागुन ४ को समयसीमालाई समेत मध्यनजर गरेर आचारसंहिता पालना गर्दै आवश्यक तयारीमा रहेको चालिसेले मध्यान्हलाई बताए । ‘फागुन ४ गतेपछि चुनावी सभा धमाधम हुन्छन्,’ उनले भने, ‘सभापति गगन थापालाई आफ्नो निर्वाचन क्षेत्रसँगै देशभरका साथीहरूलाई जिताउन चुनावी सभामा जाने कार्यक्रम तालिका बनाउँदै छौं ।’ घोषणापत्र तयारीको कामसमेत भइरहेकाले माघ अन्तिमसम्ममा घोषणा पत्रसहित औपचारिक चुनावी अभियान लिएर गाउँगाउँमा पुग्ने उनको दाबी छ । 

प्रतिनिधि सभा चुनावका कारण तराईका जिल्लामा रौनक आए पनि पहाडी जिल्लाहरू भने सुनसान छन् । पहाडका लागि चुनावी ‘ब्याटल ग्राउन्ड’ त्यहाँका भीरपाखा र बस्तीहरू नभई काठमाडौंका चिल्ला सडक र तराईका सहर बनेका छन् । तीव्र बसाइँसराइको चपेटामा परेका सोलुखुम्बु, ओखलढुंगा र खोटाङ, भोजपुर, ताप्लेजुङ, दोलखा, रामेछाप, स्याङजा, लम्जुङ दैलेखलगायत पहाडी जिल्लाका दूर गाउँहरू अझै सुनसान नै छन् । 

नेकपा एमालेबाट लमजुङका उम्मेदवारसमेत रहेका पार्टी उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले चुनावअघि गर्नुपर्ने पूर्वतयारीका काममा व्यस्त रहेको बताए । उनले भने, ‘हामी यो माघ महिनाभरि घोषणापत्र तयारी, व्यवस्थापकीय पक्षलाई बलियो बनाउने र  सचिवालयसहितका चुनावी अभियानका जिम्मेवारी बाँटफाँटका काममा लागेका छौं । उम्मेदवारहरू कार्यकर्तासँगको भेटघाट, समन्वयमा हुनुहुन्छ ।’ काठमाडौंलगायत सहरमा बस्ने मतदाता अझै बढी सचेत र जागरुक हुने भएकाले पहिलो चरणमा ती मतदातासँग अनौपचारिक भेटघाटमा रहेको उनको भनाइ छ ।  

पहाडी जिल्लाबाट सेवासुविधा, शिक्षा र रोजगारीको खोजीमा तराई र काठमाडौं पस्ने लहरले गर्दा निर्वाचनको मौलिक स्वरूप नै परिवर्तन गरेको ग्रामीण भेगका मतदाताहरूले टिप्पणी गरेका गरेका छन् । ‘उम्मेदवारहरूले अब गाउँका पाखापखेरामा पसिना बगाउनुभन्दा सहरका ‘पार्टी प्यालेस’मा भोजभतेर र भेला गरेर भोट सुरक्षित गर्नुपर्ने जमाना आयो,’ नेकपा एमालेका नेता विशाल भट्टराईले भने, ‘गाउँमा बसेर त्यहाँको दुःख र अभाव झेलेको राजनीतिक नेताहरू भन्दा सामाजिक सञ्जालमार्फत अभियान चलाउन नेता बढी सक्रिय हुँदै गएका छन् । यसले गाउँको वास्तविकता पहिचान हुन सक्दैन ।’ 

जनप्रतिनिधि छान्न मतदातालाई गाडी रिजर्भ गरेर सहरबाट गाउँ लैजानुपर्ने अवस्थाले निर्वाचनसमेत खर्चिलो भएको छ । नेपाली कम्युनिस्ट पार्टीका नेता हिमाल शर्माले मतदातासँगको भेटघाट, पार्टी बैठक,  कार्यालय व्यवस्थापनलगायतका काममा लागेको बताए । ‘उम्मेदवारहरूका लागि औपचारिक कार्यक्रम गर्न फागुन ४ पछि मात्रै पाइने भएकाले अनौपचारिक छलफल, क्याम्पेनिङ, मतदाता संवादलगायतका काममा व्यस्त छौं,’ उनले मध्यान्हसँग भने, ‘कतिपय दल र नेताहरूले चुनाव हुन्छ कि हुँदैन भन्ने संशय अझै व्यक्त गरेको सुनिन्छ । तर हामी बिनादुविधा उच्च मनोबलका साथ चुनाव हुने विश्वास लिएर चुनावी अभियानमा लागेका छौं ।’ निर्वाचनको मिति घोषणा भएदेखि नै मुलुकलाई राजनीतिक निकास दिन चुनाव हुनुपर्छ भन्ने दृढताका साथ राजनीतिक अभियान चलाउँदै आएको शर्माले बताए ।

सम्बन्धित खबर