२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल सम्पन्न, ‘द सेक्रेट अफ राधा’ सर्वोत्कृष्ट चलचित्र घोषित

Nada
२०८२ माघ १९ गते १२:५८
Shares
नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल सम्पन्न, ‘द सेक्रेट अफ राधा’ सर्वोत्कृष्ट चलचित्र घोषित

काठमाडौं : नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ संस्करणको नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौंमा सम्पन्न भएको छ । माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा विश्वका ३९ देशबाट सहभागी ८५ चलचित्र प्रदर्शन गरिएका थिए ।

ncell

महोत्सवको औपचारिक समापन भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित विशेष समारोहमार्फत गरिएको हो । समापन समारोहमा नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मी, निर्णायक, कलाकार, कूटनीतिक प्रतिनिधि तथा चलचित्रप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

समारोहमा विभिन्न विधामा उत्कृष्ट ठहरिएका चलचित्र र चलचित्रकर्मीलाई अवार्ड प्रदान गरिएको थियो । राष्ट्रिय फिचर चलचित्रतर्फ सुवर्ण थापाको निर्देशनमा बनेको चलचित्र ‘द सेक्रेट अफ राधा’ ले सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रको अवार्ड जित्न सफल भयो । यही चलचित्रका लागि नरेन्द्र मैनालीले सर्वोत्कृष्ट राष्ट्रिय छायांकनको अवार्ड हात पारे ।

राष्ट्रिय अभिनयतर्फ, चलचित्र ‘ज्वाइँ साब’बाट जितु नेपाल सर्वोत्कृष्ट राष्ट्रिय अभिनेता घोषित भए भने चलचित्र ‘कोसेढुंगा’ बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट राष्ट्रिय अभिनेत्रीको अवार्ड प्राप्त गरिन् । सोही चलचित्र ‘कोसेढुंगा’का निर्देशक सरोज पौडेल सर्वोत्कृष्ट राष्ट्रिय निर्देशक घोषित भए ।

लेखन विधातर्फ, वृत्तचित्र ‘इन्टु द मिस्ट’ बाट सचिन घिमिरेले सर्वोत्कृष्ट राष्ट्रिय लेखकको अवार्ड जितेका छन् । लघु चलचित्र ‘दृश्य (द लाइट अफ आइज)’ ले सर्वोत्कृष्ट राष्ट्रिय विशेष उल्लेख अवार्ड प्राप्त गरेको छ ।

जुरी विशेष उल्लेख अवार्ड निर्देशक पत्रिका घिमिरेको ‘ह्वाट ग्रोज इन थारी मैलाको भेगिटेबल गार्डेन ?’ र निर्देशक डब्बु क्षेत्रीको ‘द चेन्ज’लाई प्रदान गरिएको थियो । अन्य राष्ट्रिय विधातर्फ निर्देशक ड्यानियल गदालको ‘इनार’ले सर्वोत्कृष्ट राष्ट्रिय लघु चलचित्र, निर्देशक लावा प्याकुरेलको ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ले सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्र, निर्देशक गोविन्दप्रसाद ढकालको ‘साइलन्ट स्कार्स’ले सर्वोत्कृष्ट राष्ट्रिय बाल चलचित्र, निर्देशक आस्था श्रेष्ठको ‘रङ सबै गुलाबी’ले सर्वोत्कृष्ट राष्ट्रिय महिला चलचित्र तथा निर्देशक सुनिल बाबु पन्तको ‘अजिमा एण्ड सिक्स जेन्डर्स’ले सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक चलचित्रको अवार्ड प्राप्त गरेका छन् ।

महोत्सवमा ४० भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्रकर्मी, निर्णायक तथा अतिथिहरूको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय श्रेणीअन्तर्गत आयोजित प्यानल छलफलमा बेलायतकी अन्तर्राष्ट्रिय जुरी सदस्य एड्रिना कुलिग, अर्जेन्टिनाका डा. जर्ज जोर्गे क्यारोभोत्ता, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सूर्य थपलिया तथा डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङ सहभागी थिए ।

महोत्सव बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय, गोकर्णेश्वर नगरपालिका, चलचित्र विकास बोर्ड तथा नेपाल पर्यटन बोर्डको सहकार्य र सहयोगमा सम्पन्न गरिएको आयोजकले जनाएको छ । महोत्सवको विशेष आकर्षणका रूपमा अष्ट्रेलियाली चलचित्र निर्देशक मौलिनाथ गंगुलीद्वारा मास्टर क्लास पनि सञ्चालन गरिएको थियो ।

अन्तर्राष्ट्रिय चलचित्रतर्फ, भारतका निर्देशक जयन चेरियनको ‘रिदम अफ दमाम’ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्र को अवार्ड जितेको छ । सोही चलचित्रका कलाकार चिनमाया सिद्धिले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेता को अवार्ड प्राप्त गरे ।

अष्ट्रेलियाका निर्देशक मौलिनाथ गंगुलीको ‘कुप्पा’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छोटो चलचित्र, लिथुआनियाकी निर्देशक गिएड्रे जेनेभिसियुटेको ‘द हेड’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर वृत्तचित्र तथा इजरायलका निर्देशक हावर्ड रिपको ‘गिम्पेलः द फूल रिटर्न्स टु पोल्याण्ड’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छोटो वृत्तचित्र को अवार्ड प्राप्त गरेका छन् ।

यसैगरी बेलायतकी निर्देशक स्वेकृति राईको ‘द पिपल क्लोजेस्ट टु हेभन’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय महिला चलचित्र, काजाकस्तानको ‘स्पार्क’ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय बाल चलचित्र, क्यानडाकी निर्देशक फरिबा फरजामको ‘रिड्याक्टेड ड्रिम्स’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र, थाइल्याण्डको ‘रे द रग’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय एनिमेशन चलचित्र तथा बंगलादेशको ‘द टेस्ट अफ हनी’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वातावरणीय चलचित्रको अवार्ड जितेका छन् ।

भारतको चलचित्र ‘सी इट!’ का लागि शान्ति मोहन र मुकुन्द मूर्तिले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय निर्देशक अवार्ड प्राप्त गरे । जर्मनीका ओली ड्युरले ‘जेपेलिन राइट अबभ’ बाट सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लेखक, ब्राजिलकी क्यारोलिन रोहरिगले ‘ट्राइ योर लक’ बाट सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेत्री तथा भारतका बेनिश मुजसाबाले ‘नेचर्स ब्यान्डेज’ का लागि सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छायांकनको अवार्ड प्राप्त गरे ।

बंगलादेशका निर्देशक जमिल्लाह भान डर हल्स्टको ‘ह्वेयर द किड्स ह्याभ नो नेम’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय जुरी अवार्ड हात पार्दा विशेष उल्लेख अवार्ड अन्तर्गत हङकङका निर्देशक क्रिस्टिन युङको ‘महाकुम्भः एन ओसन अफ डिभोशन’, चीनका निर्देशक बिङ लुओको ‘न्यु डन’ तथा फ्रान्सकी निर्देशक पाउलिन बर्नार्ड–भर्नायको ‘कासा सुसाना’ सम्मानित भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर