
काठमाडौं : निजी तथा आवासीय विद्यालयहरूको साझा संगठन हिसान तारकेश्वरको दोस्रो अधिवेशन सोमबार साँझ सम्पन्न भएको छ । दियालो फुडल्यान्डमा आयोजित अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यदिशा तय गरेको छ ।
हिसान केन्द्रका अध्यक्ष युवराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हिसान केन्द्रका वरिष्ठ उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, उपाध्यक्ष विष्णुराज पौडेल, महासचिव रामहरि सिलवाल, कोषाध्यक्ष शिव अधिकारी, प्यावशन केन्द्रीय समिति सदस्य लोकेन्द्रबहादुर खड्का, हिसान काठमाडौंका अध्यक्ष जेसिका चेम्जोङ, वरिष्ठ उपाध्यक्ष गोपिराज पराजुली, प्यावशन बागमती प्रदेश सदस्य राजेन्द्रप्रसाद फुयाँल, प्यावशन काठमाडौंका उपाध्यक्ष ऋषि न्यौपाने, हिसान कीर्तिपुर, नागार्जुन र चन्द्रागिरिका अध्यक्ष जयराम चापागाईं तथा प्यावशन तारकेश्वरका अध्यक्ष गोपाल बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले देश निर्वाचनको चरणमा रहेको उल्लेख गर्दै संस्थागत विद्यालयको अस्तित्वमाथि प्रहार गर्ने शक्तिलाई परास्त गर्न सबै एकजुट हुनुपर्ने बताए । नयाँ बन्ने सरकार संस्थागत विद्यालयप्रति प्रतिकूल हुनसक्ने आशंका व्यक्त गर्दै उनले दलहरूको घोषणापत्र अध्ययन गरेर हिसानले आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।
त्यस्तै, प्यावशन केन्द्रीय समिति सदस्य खड्काले हिसानले परीक्षा, तालिम तथा महत्वपूर्ण शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै विद्यालयहरूको गुणस्तर अभिवृद्धिमा भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै हिसान काठमाडौंका अध्यक्ष चेम्जोङले तारकेश्वर हिसानका गतिविधिबाट जिल्ला र केन्द्रले पनि सिक्नुपर्ने अवस्था आएको बताए ।
हिसान तारकेश्वरका नवनिर्वाचित उपाध्यक्ष शिवप्रसाद अर्यालले स्वागत मन्तव्य राख्दै हिसान, प्यावशन र एनप्यावशनबीच सहकार्य र समन्वय गर्दै संस्थागत विद्यालयको हकहितका पक्षमा संयुक्त रूपमा खबरदारी गर्नुपर्नेमा जोड दिए ।
अधिवेशनको अवसरमा एन्जल्स हार्ट माध्यमिक विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता हिसान तारकेश्वरका अध्यक्ष लिलबहादुर पुनले गरेका थिए भने सञ्चालन सचिव कमल ज्ञवालीले गरेका थिए ।
हिसान तारकेश्वरमा आवद्ध ११ विद्यालयमध्येबाट ९ सदस्यीय कार्यसमिति निर्वाचित भएको अध्यक्ष पुनले जानकारी दिए । नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष लिलबहादुर पुन (एन्जल्स हार्ट मा.वि.), उपाध्यक्ष शिवप्रसाद अर्याल (कौशल हाई स्कुल), सचिव कमलप्रसाद ज्ञवाली (प्रारम्भ वर्ल्ड स्कुल), कोषाध्यक्ष सुष्मा श्रेष्ठ (ल्याण्डमार्क एकेडेमी), सह-सचिव बद्रीनाथ भट्ट (सेक्रेट हार्ट स्कुल), सह–कोषाध्यक्ष राजेश रायमाझी (न्यु एरा एकेडेमी) तथा सदस्यहरूमा इन्द्रायण प्रधान (सेन्ट जोसेफ हाई स्कुल), राजेन्द्र पाण्डे (काठमाडौं लिंकन स्कुल) र थिरबहादुर बस्नेत (तेजस्वी एकेडेमी) रहेका छन् ।
यसैगरी, अधिवेशनबाट ३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । समितिमा लोकेन्द्रबहादुर खड्का, जुद्धबहादुर पुन र राजेन्द्रप्रसाद फुयाँल रहेका छन् ।