
घटना १
दार्चुलाको महाकाली नगरपालिका–४ बांगाबगडस्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हबल्दार योगेन्द्र घर्ती मृत अवस्थामा फेला परे । उनको टाउको र निधारमा गहिरो घाउ देखिएपछि हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । महाकाली नगरपालिका–४ का घर्तीमाथि आक्रमणको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्ट बताउँछन् ।
घटना २
वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मार्दा तस्कर समूहसँग सोमबार झडप भयो । सोमबार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज तथा वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोली आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरेर राखिएको कपडा बरामद गर्न पुगेको थियो । टोलीले गोदाममा खानतलासी सुरु गरेपछि त्यहाँ रहेका व्यापारी तथा तस्कर समूह सशस्त्र प्रहरीमाथि नै जाइलागेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । प्रहरीलाई लखेटीलखेटी कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ढुंगा प्रहारका कारण सशस्त्र प्रहरीको एउटा वानटेन र अर्को गाडीमा क्षति पुगेको छ भने तीन जना जवान घाइते भएका छन् ।
घटना ३
महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सवारी शाखामा कार्यरत दुई प्रहरी जवान आइतबार राति करिब ९ बजे ड्युटी सकेर घर फर्किने क्रममा कुटिए । प्रहरी जवान शिवहरि खड्कासहित गुल्मीका १९ वर्षीय भाष्कर अर्याल र २३ वर्षीय भाष्कर पौडेललाई एउटा समूहले कुटपिट गरेको थियो । कुटपिटमा संलग्न धादिङ दुवाकोटका मुखेश ढकाल र नुवाकोट कठेरीका रमेश सुन्दासलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरी वृत्त सोह्रखुट्टेमा बुझाएको प्रहरीले जनाएको छ ।
यी पछिल्ला दुई हप्तामा प्रहरीमाथि भएका कुटपिट तथा हत्याका घटना हुन् । गत भदौको जेनजी आन्दोलनपछि यस्ता घटना सामान्यजस्तै भएका छन् । आन्दोलनमा संसद् भवन सुरक्षार्थ खटिएका प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएपछि प्रहरी निरन्तर निशानामा पर्दै आएको छ । त्यतिबेला देशभर झन्डै ५ सय प्रहरी कार्यालय आक्रमण गरिएको थियो । तीन प्रहरीको निर्मम ढंगले ज्यान लिइएको थियो । जेनजी आन्दोलनको क्रममा जेल तोडेर भागेका हजारौं कैदी अहिले पनि जेलबाहिरै छन् । अचेल हुने धेरै अपराधका घटनामा फरार कैदीबन्दीको संलग्नता पाइएको छ । त्योभन्दा गम्भीर जनताको सुरक्षामा रहेका प्रहरीमाथि नै कुटपिट, अभद्र व्यवहार, हत्यासमेत हुन थालेको भन्दै सुरक्षा चिन्ता हुन थालेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा यस्ता घटनाले चुनावलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी बोकेको प्रहरी नै असुरक्षित देखाएको छ । नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्ले सुरक्षाकर्मीलाई हतोत्साहित पार्ने ढंगबाट भएका घटनाबाट सर्तक हुँदै थप सशक्त हुन मातहतमा रहेका प्रहरीहरूलाई निर्देशन दिइएको बताउँछन् । प्रहरीले युनिटहरू मजबुत बनाएर प्रहरी परिचालन गर्न मातहका प्रहरी प्रमुखलाई निर्देशन दिएको छ । ‘समाजमा आपराधिक व्यक्ति पनि हुन्छन्, उनीहरूले घटना घटाउँछन्,’ उनले भने, ‘पक्राउ गरेर कडा कारबाही पनि गरेका छौं ।’
कानुन भएको देशमा कसैले पनि कानुन हातमा लिन नहुने प्रवक्ता काफ्ले बताउँछन् । प्रहरीलाई समन्वयात्मक गरेर थप प्रहरी परिचलान गरेर गस्ती तथा घटनास्थलमा पुग्न निर्देशनसमेत दिएको उनको भनाइ छ । ‘कैदीहरू जेलबाहिर छन्, फाटफुट रूपमा घटना भइरहेका छन्,’ उनले भने, ‘प्रहरीहरू शान्ति सुरक्षामा सधैं अग्रसर छौं ।’ प्रहरीमाथिका पछिल्ला आक्रमणले निर्वाचनको शान्ति सुरक्षामा कुनै असर नपर्ने उनको दाबी छ ।
नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले अराजकताका कारण दण्डहीनता हुने र अपराधीकरण बढ्ने बताउँछन् । ‘यो सबै जेनजी आन्दोलनका कारण भन्न मिल्दैन । यस्ता आपराधिक मानसिकता परापूर्वकालदेखि नै छन्,’ उनले भने, ‘प्रहरीमा पनि केही कमजोरी देखिन्छन् ।’ प्रहरीले सुव्यवस्थित रूपमा प्रहरी परिचालन गर्नेदेखि युनिटलाई मजबुत गराउनेतर्फ लाग्नुपर्ने मल्ल बताउँछन् । ‘प्रहरीलाई कहाँ कसरी कति परिचालन गर्ने भन्ने प्रहरी नेतृत्वमा भर पर्छ,’ उनले भने, ‘समयमै सही सूचना लिएर सचेत हुन सक्नुपर्छ, नत्र अराजकता मौलाउँदै जान्छ ।’