२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

बाँफिकोटमा शहीदका परिवार सम्मानित

shivam cement
प्रचण्ड खत्री
२०८२ फागुन १ गते १६:२१
Shares
बाँफिकोटमा शहीदका परिवार सम्मानित

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा रहेको शहीद परिवार समाज नेपालले गाउँपालिकाभित्र रहेका ८५ जना शहीदका आफन्तलाई सम्मान गरेको छ । १० वर्षे सशस्त्र जनयुद्धका क्रममा राज्य पक्ष र विद्रोह पक्षबाट ज्यान गुमाएका परिवारका सदस्यलाई शहीदका रूपमा स्मरण गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

प्रत्येक वर्ष शहीदको सम्झनामा कार्यक्रम गर्दै आएको समाजले यस वर्ष पनि शहीदका आफन्त तथा परिवारका सदस्यलाई कासको थाली प्रदान गर्दै सम्मान गरेको छ ।

कार्यक्रममा बाँफिकोट गाउँपालिकाकी पूर्व उपाध्यक्ष मनकला पुनले आफ्ना सन्तान र श्रीमानको सम्झनाले आज पनि आँखाबाट आँसु झर्ने गरेको बताइन् । उनका श्रीमान् २०६९ सालमा रोल्पाको रिपिटर टावर आक्रमणका क्रममा मारिएका थिए । उनले शहीदलाई सम्मान मात्रै पर्याप्त नभई शहीद परिवारलाई राज्यले दिने सेवा–सुविधा अझै प्रभावकारी रूपमा उपलब्ध गराउनुपर्ने माग गरिन् । पुन जस्तै गाउँपालिकाका ८५ जना शहीद परिवारको आवाज एउटै रहेको उनको भनाइ छ ।

बाँफिकोट गाउँपालिकाले कार्यक्रमका लागि बजेट व्यवस्थापन गरेको थियो । शहीद परिवार समाज बाँफिकोटका अध्यक्ष धनबहादुर खत्रीका अनुसार शहीदलाई यसरी सम्झिँदा कम्तीमा एक दिन भए पनि आफ्ना प्रियजनको सम्झना ताजा हुने गर्छ । साबिक पिपल गाविस हालको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा शहीदका आफन्त र स्थानीयको सहकार्यमा स्मृति कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रत्येक वडाबाट शहीद परिवारका आफन्तको सहभागिता रहेको थियो भने विभिन्न सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

शहीद परिवार समाज बाँफिकोटका अध्यक्ष धनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका रुकुम पश्चिमका उम्मेदवार गोपाल शर्मा ‘अनल’ प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै शर्माले शहीदको सम्झनामा पार्क निर्माण, भवन निर्माण तथा शिलापत्रमा शहीदका तस्बिर र नाम लेख्ने जस्ता काम भइरहेको बताए । साथै आफू नेकपाको उम्मेदवार भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा आफूलाई विजयी बनाउन मतदातासमक्ष आग्रह गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर