
काठमाडौं : नेपालले १२ वर्षपछि आइसिसी टी–२० विश्वकपमा ऐतिहासिक जित दर्ता गरेको छ । मंगलबार समूह ‘सी’ अन्तर्गतको अन्तिम खेलमा स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोलीलाई ७ विकेटले पराजित गर्दै नेपालले आइसिसी टी–२० विश्वकप २०२६ मा पहिलो जित हात पारेको हो । यस जितसँगै नेपालले समूह चरणको यात्रा सान्त्वना सफलतासहित टुंग्याएको छ ।
यसअघि नेपालले सन् २०१४ मा विश्वकपमा डेब्यु गर्दा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो । त्यसपछि नेपाल ६ खेलमा पराजित भएको थियो ।
मुम्बईस्थित वानखेडे मैदानमा स्कटल्यान्डले दिएको १७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । उपकप्तान दीपेन्द्र सिंह ऐरीको आक्रामक अर्धशतक र मध्यक्रमको संयमित ब्याटिङले नेपाललाई ऐतिहासिक जिततर्फ डोर्यायो ।
नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमै ५६ रन जोड्दै सानदार सुरुवात दिलाएका थिए । दुवैले स्कटल्यान्डका बलरमाथि आक्रामक शैली अपनाउँदै रनरेट उच्च राखे । भुर्तेलले ४३ रन बनाउँदा आसिफले २ छक्का सहित ३३ रनको योगदान दिए । पहिलो विकेटका लागि दुवैले ९.१ ओभरमा ७४ रनको साझेदारी गरे ।
भुर्तेल आउट भएपछि कप्तान रोहित पौडेल र आसिफ शेखले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि माइकल लिस्कको कसीलो बलिङका कारण नेपालले छोटो अन्तरालमै दुई विकेट गुमायो । रोहित १६ रनमा आउट भए भने आसिफ १२औँ ओभरमा पभेलियन फर्किए । त्यसपछि ९८–३ को अवस्थामा उपकप्तान दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले धैर्य र आक्रामकता मिश्रित ब्याटिङ गर्दै इनिङ्सलाई अघि बढाए ।
दीपेन्द्रले १६औँ ओभरमा माइकल लिस्कलाई दुई छक्का र एक चौका प्रहार गर्दै एकै ओभरमा २० रन बटुलेपछि खेल नेपालको पक्षमा मोडिएको थियो । उनले २३ बलमा ४ चौका र ३ छक्का सहित अर्धशतक पूरा गर्दै यस विश्वकपमा लगातार दोस्रो अर्धशतक प्रहार गरे । गुल्सन झाले पनि उपयोगी साथ दिँदै अन्तिमसम्म क्रिजमा टिके ।
बलिङतर्फ स्कटल्यान्डका माइकल लिस्कले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए भने अन्य बलरहरू निर्णायक मोडमा प्रभाव जमाउन असफल रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ओपनर माइकल जोन्सको ७१ रनको मद्दतमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो । जर्ज मुन्सेले २७ रन जोडे भने ब्रान्डन म्याकमुलेनले २५ रन बनाए । सुरुवाती १० ओभरमा आक्रामक ब्याटिङ गरेको स्कटल्यान्डमाथि नेपालले पछिल्ला ओभरहरूमा उत्कृष्ट बलिङ गर्दै दबाब सिर्जना गरेको थियो ।
नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिँदै महत्वपूर्ण भूमिका खेले । नन्दन यादवले २ विकेट लिए भने कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान १–१ विकेट हात पारे । डेथ ओभरमा नेपाली बलरहरूको कसीलो प्रदर्शनले स्कटल्यान्डलाई १७० रनमै सीमित राख्न सफल बनायो ।