
उदयपुर : त्रिभुवन आर्मी क्लब एन्फा महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । उदयपुरको थारुहट रंगशाला, गाईघाटमा जारी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
बुधबार सम्पन्न खेलमा आर्मीका लागि विमला चौधरीले पहिलो हाफको सुरुवातमै निर्णायक गोल गर्दै टोलीलाई जित दिलाइन् । खेलको सातौं मिनेटमा कर्नरबाट आएको बललाई सदुपयोग गर्दै उनले गोल गरेकी थिइन्, जुन नै खेलको एक मात्र तथा निर्णायक गोल बन्यो ।
खेलभरि आर्मीले संगठित डिफेन्स र अनुशासित खेल प्रदर्शन ग¥यो । पहिलो हाफमा अग्रता लिएको आर्मीले दोस्रो हाफमा पनि दबाब कायम राख्दै पुलिसका आक्रमणलाई रोक्न सफल रह्यो । पुलिसले अन्तिम समयसम्म बराबरी गोलको प्रयास गरे पनि सफलता हात पार्न सकेन ।
यस खेलको ‘म्यान अफ द म्याच’ आर्मीकी दिपा शाही घोषित भइन् । उनले नगद ७ हजार ५ सय रुपैयाँ, मेडल र ट्रफी प्राप्त गरिन् ।
अब फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा एपिएफ फुटबल क्लब र संकटा फुटबल क्लबबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग भेट पक्का गर्नेछ ।
प्रतियोगितामा सहभागी १० टोलीमध्ये गाईघाट फुटबल क्लब, एफसी रियल, छहारी युथ क्लब, आरएस रिसोर्ट, न्युरोड टिम, चर्च बोइज र नेपाल पुलिस क्लब प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
आगामी फागुन ९ गते फाइनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सह–आयोजनामा सञ्चालन भइरहेको छ ।