राजधानी शहर रहेको काठमाडौं महानगरमा स्वतन्त्र उम्मेद्वार बोलेन्द्र साहले प्रमुख राजनीतिक दलका उम्मेद्वारहरु पछि पारेपछि राष्ट्रिय राजनीतिको ध्यान तानिएको छ । ०७४ को चुनावबाट प्रमुख शक्ति बनेको नेकपा एमालेले केशव स्थापित र सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेद्वार बनाएको छ । सिंहलाई सत्ता साझेदार पाँच दलको समर्थन छ । अन्य साना दल र स्वतन्त्र उम्मेद्वार पनि चुनावी मैदानमा छन् । तर सवै उम्मेद्वारलाई पछि पार्दै बालेन्द्र साह अगाडि बढेका छन् । उनले पाएको मत दोस्रो र तेस्रो स्थानमा रहेका स्थापित र सिंहको भन्दा धेरै छ । वडामा एमाले र कांग्रेसले जितेपनि बालेनले उत्साहजनक मत पाएपछि नेताहरु भने निराश देखिन्छन् ।
०५४ र ०७४ को चुनाव जितेको एमालेका महासचिव शंकर पोखरेलले बक्तव्य निकालेर धादलीको आरोप लगाएका छन् । तर अन्य स्थानीय तहमा सत्ताको दुरुपयोग गरेर गठबन्धनले धादली गरेको भनेपनि एमालेले बालेनले पाएको मतबारे भने केही बोलेको छैन । बरु अझैपनि जित्ने झिनो आशा राखेको देखिन्छ । एमालेकै जस्तो मनोदशामा गठबन्धनका नेताहरु पनि देखिन्छन् । राजधानी उपत्यकामा मात्रै नभएर धरान, धनगढी र जनकपुर उपमहानगरमा पनि स्वतन्त्र उम्मेद्वारले अग्रता लिएका छन् । धरानमा हर्क साम्पाङ, धनगढीमा गोपाल हमाल र जनकपुरमा मनोज साहले अग्रता लिइरहेका छन् । सात स्थानीय तहमा त स्वतन्त्र उम्मेद्वार निर्वाचित भइसकेका छन् । यसबारे दलहरुसँग चिक्तबुझ्दो जवाफ छैन । प्रमुख राजनीतिक दलकै उम्मेद्वारसँग पराजित भएका ठाउँमा भने पार्टीभित्रै घात भएको देखि विपक्षीले मर्यादित तरिकाले मतदाता प्रभावित बनाएको समेत आरोप लगाउने गरेका छन् ।
पराजयलाई स्वभाविक र लोकतन्त्रमा हुने नियमित प्रक्रियाका रुपमा भने निकै कम उम्मेद्वारले मात्रै लिएका छन् । दलगत रुपमा त पराजयलाई स्वभाविक रुपमा लिने संस्कृति नै देखिन्न । हरेक चुनावमा पराजित हुने शक्तिले कुनै न कुनै बाहनामा जित्ने शक्तिलाई आरोप लगाउने गर्छन् । यसपटक पाँच दल मिलेर घेराबन्दी गरिएकोदेखि सत्ता दुरुपयोगसम्मको आरोप एमालेले लगाएको छ । तर चुनावी पराजयलाई मतदाताले सुधारका निम्ति दिएको अवसरका रुपमा लिने प्रचलन देखिन्न । जबकी सत्य त्यही हो । बहुदलीय प्रतिश्पर्धा बमोजिमको प्रणाली संविधानमा व्यवस्था भएको मतदाताले राम्रैसँग बुझेका छन्, तर त्यसतर्फ भने राजनीतिक नेतृत्वले ध्यान दिएको पाइदैन । आफ्नो पराजयमा पनि जित्नेकै कमजोरी खोज्नु वैज्ञानिक कुरा समेत होइन । विशेषगरी राजधानी उपत्यकामा ०७४ र यसपटक देखिएको मतदानको प्रवृत्तिबाट त्यो बुझ्न दलहरुले ढिलाइ गर्न हुन्न ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies