
उदयपुर : एन्फा महिला फुटबल च्याम्पियनसिपको उपाधिका लागि एपिएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब आमनेसामने हुने भएका छन् । उदयपुरको गाईघाटस्थित थारुहट रंगशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा एपिएफले संकटा फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
खेलको १०औं मिनेटमा रश्मी कुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन् । त्यसको दुई मिनेटपछि नै अनिता केसीले अर्को गोल थप्दा एपिएफले पहिलो हाफमै २–० को बलियो अग्रता बनायो ।
संकटाले केही अवसर सिर्जना गरे पनि पहिलो हाफमा गोल फर्काउन सकेन । दोस्रो हाफमा विदेशी खेलाडीसहितको संकटा टोलीले केहीबेर दबाब बनाए पनि गोल गर्न असफल रह्यो । खेलको ४२औं मिनेटमा गीता राणाले तेस्रो गोल गर्दै एपिएफको जित सुनिश्चित गरिन् ।
प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी मनमाया दमाई ‘म्यान अफ द म्याच’ घोषित भइन् । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् ।
एपिएफले क्वार्टरफाइनलमा आरएस रिसोर्ट पोखरालाई १९–० को फराकिलो अन्तरले हराएको थियो । आर्मीले क्वार्टरफाइनलमा न्युरोड टिमलाई ६–१ ले पराजित गरेको थियो भने सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
फागुन ९ गते हुने फाइनल खेलमा विजेता टोलीले नगद ७ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
च्याम्पियनसिपका उत्कृष्ट तीन खेलाडीले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।