
बझाङ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङमा प्रशासन र निर्वाचन संयन्त्रले तयारी तीव्र पारेका छन् । मतदाता शिक्षा, जनशक्ति व्यवस्थापनदेखि सुरक्षा रणनीतिसम्मका कामलाई अन्तिम चरणमा पु¥याइएको अधिकारीहरूले बताएका छन् ।
आइतबार जिल्ला निर्वाचन कार्यालय बझाङले सञ्चारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा निर्वाचन तयारीबारे विस्तृत जानकारी दिएको हो । कार्यालयका प्रमुख बसन्त बहादुर धानुकले निर्वाचनका लागि एक हजार एक सय ३४ जना कर्मचारी खटनपटन भइसकेको र उनीहरूलाई आवश्यक तालिम दिने तयारी भइरहेको बताए ।
फागुन ३ गतेदेखि जिल्लाका १२ वटै स्थानीय तहका ९४ वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको समेत धानुकले बताए । उनले भने,‘मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिन स्वयंसेवक परिचालन गरेका छौं ।’ जिल्लामा कुल एक लाख २६ हजार ९ सय ३ मतदाता रहेका छन् । तीमध्ये ६२ हजार २ सय ८९ पुरुष र ६४ हजार ६ सय १४ महिला मतदाता छन् ।
निर्वाचनका लागि दुई अस्थायी मतदान केन्द्र, १ सय ८९ स्थायी मतदान केन्द्र र १ सय ३७ मतदानस्थल तोकिएका छन् । तीन मतदानस्थल सामान्य, ४९ संवेदनशील र ८५ अति संवेदनशील श्रेणीमा राखिएको छ । जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ । मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जिल्लामा ५१ प्रकारका निर्वाचन सामग्री पुगिसकेको जानकारी दिए । उनले भने, ‘अब केहि दिनमा मतदानस्थलमा निर्वाचन सामग्री ढुवानी र व्यवस्थापन गराउनेछौं ।’
सुरक्षा व्यवस्थातर्फ २०७९ सालको निर्वाचनभन्दा यसपटक थप कडाइ गरिएको प्रशासनको दाबी छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी र जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्र धमलाले विगतका कमजोरी नदोहोरिने गरी सुरक्षा योजना बनाइएको बताए ।
निर्वाचनका दिन सात सय ११ जना नेपाल प्रहरी, चार सय आठ जना नेपाली सेना, एक सय ८४ जना सशस्त्र प्रहरी र एक हजार पाँच सय ८० जना निर्वाचन प्रहरी गरी कुल दुई हजार आठ सय ८३ जना सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।