२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

चुनाव नजिकिँदै जाँदा निर्णायक मनस्थितिमा मतदाता

Nada
विनोद निगम
२०८२ फागुन १० गते २१:५२
Shares
चुनाव नजिकिँदै जाँदा निर्णायक मनस्थितिमा मतदाता

नवलपरासी : पश्चिम नवलपरासी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा फागुन २१ गते हुन गइरहेको निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बनेको छ । गाउँदेखि बजारसम्म झण्डा, ब्यानर र चुनावी नाराले वातावरण तातेको छ भने चोक–चौतारो र चियापसलहरू राजनीतिक बहसका केन्द्र बनेका छन् । 

ncell

जेनजी आन्दोलनपछि विकसित राजनीतिक चेतनाले यसपटकको चुनावलाई थप चासोको विषय बनाएको छ । स्थापित दलहरूप्रति उठेका प्रश्न र परिवर्तनको मागका कारण मतदाताहरू यसपटक नाराभन्दा कार्यसम्पादन र विश्वसनीयतालाई प्राथमिकता दिन थालेका छन् । प्रचारप्रसार तीव्र भएपनि धेरै मतदाता खुलेर धारणा सार्वजनिक गर्न हतारिएका देखिँदैनन् ।

यस क्षेत्रमा विभिन्न दलका उम्मेदवार प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेसकातर्फबाट भीमबहादुर क्षेत्री थापा (भरत), राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेन्द्र गुप्ता, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेल, जनता समाजवादी पार्टी नेपालबाट देवेन्द्र यादव तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट लेखनाथ खरेल चुनावी मैदानमा छन् । अन्य केही दल र स्वतन्त्र उम्मेदवारले पनि प्रचार अभियान चलाइरहेका छन् । 

उम्मेदवारहरूले घरदैलो, कोणसभा र अन्तरक्रिया कार्यक्रममार्फत मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । सबैले विकास निर्माण, रोजगारी सिर्जना र प्रभावकारी प्रतिनिधित्वको प्रतिबद्धता व्यक्त गरिरहेका छन् । 

मतदाताको मनस्थिति भने गम्भीर देखिएको छ । जेष्ठ मतदाताहरू विगतका वाचा र कार्यसम्पादनको तुलना गर्दै मूल्यांकन गरिरहेका छन् भने युवा मतदाता रोजगारी, शिक्षा र पारदर्शिताका मुद्दामा केन्द्रित छन् । ‘अघिल्लो पटकका प्रतिबद्धता कति पूरा भए ?’ भन्ने प्रश्न धेरैको साझा जिज्ञासा बनेको छ ।

यसपटकको चुनावी बहस सडक निर्माण, कृषि अनुदान, सिँचाइ, स्वास्थ्य सेवा, शिक्षा सुधार र बेरोजगारीजस्ता विषयमा केन्द्रित भएको छ । मतदाताहरू उम्मेदवारसँग स्पष्ट योजना र कार्यान्वयनको खाका मागिरहेका छन् । 

चुनावी सरगर्मी बढ्दै जाँदा अन्तिम निर्णय भने मतदाताको मौन मूल्यांकनमा निर्भर देखिन्छ । यस क्षेत्रको नतिजाले प्रतिनिधि चयनसँगै आन्दोलनपछिको जनचेतनाको दिशासमेत संकेत गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर