२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

अफगानिस्तानद्वारा पाकिस्तानी हवाई हमलाको पुष्टि

shivam cement
२०८२ फागुन ११ गते ११:२८
Shares
अफगानिस्तानद्वारा पाकिस्तानी हवाई हमलाको पुष्टि

काठमाडौंः अफगानिस्तान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले आइतवार एक्स (ट्विटर) मा पोस्ट गर्दै पाकिस्तानी सेनाले अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा पुनः हवाई हमला गरेको पुष्टि गरेका छन् । यस हमलामा दर्जनौं नागरिकको ज्यान गएको तथा घाइते भएको उनले बताए । 

मुजाहिदकाअनुसार पाकिस्तानी सेनाले नंगरहार र पक्तिका प्रान्तका नागरिक क्षेत्रहरूमा बमबारी गरेको थियो । यस क्रममा महिला तथा बालबालिकासहित दर्जनौंको ज्यान गएको छ । अफगानिस्तानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो घटनालाई अफगान क्षेत्रमा भएको स्पष्ट उल्लंघन तथा अपराधपूर्ण कार्य भन्दै कडा निन्दा गरेको छ । यो अन्तर्राष्ट्रिय कानुन तथा छिमेकी मित्रताका सिद्धान्तको उल्लंघन भएको मन्त्रालयको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, पाकिस्तानले अफगान नागरिक लक्षित तथा धार्मिक स्थलहरूमा आक्रमण गरेको छ । 

अफगान पक्षले यसको उचित समयमा सावधानीपूर्वक तथा उपयुक्त प्रतिक्रिया दिने बताएको छ । यसैबीच, पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने पाकिस्तानले सीमा क्षेत्रमा रहेका सातवटा आतंकवादी शिविरहरूमा खुफिया जानकारीमा आधारित लक्षित हमला गरेको दाबी गरेको छ । यो हमला हालैका आत्मघाती बम विस्फोटहरूको प्रतिक्रियास्वरूप गरिएको बताइएको छ । 

यी हमलाको जिम्मेवारी तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का गुटहरू तथा इस्लामिक स्टेट खोरासान प्रान्त (आईएसकेपी) ले लिएका थिए । गत वर्ष अक्टोबरदेखि दुवै देशका सीमा क्षेत्रमा बारम्बार झडपहरू भइरहेका छन् । गत अक्टोबर १९ मा कतार र टर्कीको मध्यस्थतामा दुवै पक्षबीच युद्धविराम भएको थियो । त्यसपछि दोहा, इस्तानबुल र रियादमा भएका वार्ताहरूबाट युद्धविरामलाई दिगो बनाउन सकेनन् । यो घटनाले दुई छिमेकी देशबीचको तनावलाई थप बढाएको छ । एजेन्सी 

सम्बन्धित खबर