
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत पाँचजनालाई सफाइ दिने फैसला भएको छ । विशेष अदालतले सोमबार यस मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ७ जेठमा मुद्दा दायर गरेको थियो । जसमा बाँफीकोटका प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओली, खानेपानी तथा सरसफाइ टेक्निसियन दलबहादुर ओली, लेखापाल महेन्द्र शर्मा र शान्तबहादुर बस्नेत प्रतिवादी थिए। बस्नेत पिपलकाँडा मेलगौरी सडक योजना निर्माण गर्ने कम्पनीका प्रोप्राइटर हुन् ।
आर्थिक वर्ष ०७९/८० मा पिपलकाँडा–मेलगौरी सडक निर्माण योजनाका लागि भ्याटसहित १ करोड ९९ लाख रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको थियो । यसमध्ये गाउँपालिकाले मालिका बस्नेत निर्माण सेवासँग ७७ लाख ४४ हजार रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । सडक निर्माणका क्रममा २९ सय मिटर मात्र सडक बनेकोमा नापी किताबमा ३७ सय मिटर उल्लेख गरेको भेटिएको थियो ।
अख्तियारमा उजुरी परेपछि अनुसन्धान सुरु हुँदा जिल्ला दररेटअनुसार काम भएको भनी प्राप्त अनुगमन प्रतिवेदनमा अनुगमन गर्ने पदाधिकारीको हस्ताक्षर नै नभएको तथा अन्य कैफियत भेटिएको थियो । जसपछि २१ लाख ६३ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता भएकोमा विशेषले सफाइ दिएको हो ।
अदालतको आदेशपछि भएको स्थलगत प्राविधिक मुचुल्कामा ३७ सय मिटर नै सडक रहेको र आरोपदाबी अनुसारका कैफियत नभेटिएको विशेषको ठहर छ । अन्य प्रमाणले पनि भ्रष्टाचार गरेको आरोपदाबी वस्तुनिष्ठ तवरबाट पुष्टि हुन नसकेको संक्षिप्त फैसलामा उल्लेख छ ।