
काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको फैसलालाई चुनौती दिँदै आफ्नो ग्लोवल ट्यारिफ नीतिलाई निरन्तरता दिने संकेत दिएका छन् । स्टेट अफ द युनियन सम्बोधनमा ट्रम्पले सर्वोच्च अदालतको फैसलालाई धेरै दुःखद् भएको बताएका थिए ।
अमेरिकी सर्वोच्च अदालतले गत शुक्रवार ट्रम्पको राष्ट्रिय आपतकालीन अवस्थामा प्रयोग गरिएको कानुनअन्तर्गत लगाइएका व्यापक ट्यारिफहरूलाई गैरकानुनी ठहर गरेको थियो । ६–३ को बहुमतबाट आएको फैसलामा अदालतले इन्टरनेशनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट अन्तर्गतका ट्यारिफ नीतिहरू असंवैधानिक भएको बताएको छ । यसले अप्रिलदेखि ट्रम्पले लागू गरेका ग्लोबल ट्यारिफहरूलाई पूर्ण रूपमा खारेज गरेको छ ।
ट्रम्पले फैसलालाई दुःखद् भन्दै यसलाई बेवास्ता गर्दै पुराना व्यापार सम्झौताहरू कायम राख्ने तथा आवश्यक परे नयाँ र कडा सम्झौता गर्ने धम्की दिएका छन् । यसले विश्व व्यापारमा नयाँ अनिश्चितता थपेको छ । ट्रम्पले सर्वोच्च अदालतको फैसला आएलगत्तै नयाँ १० प्रतिशत ग्लोवल ट्यारिफ लागू गरेका छन् । जसलाई पछि १५ प्रतिशत सम्म बढाउने योजना पनि रहेको छ । यो घटनाले अमेरिकी कार्यकारी र न्यायिक शाखाबीचको तनावलाई उजागर गरेको छ । जसले अन्तर्राष्ट्रिय व्यापार र अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्छ । एजेन्सी