– सरस्वती महरा
महिला समस्या महिलाको व्यक्तिगत विषय र समस्या मात्र नभएर सामाजिक विषयवस्तु र समस्या पनि हो । महिला मुक्ति पुरूषहरूको मुक्तिसहित समाजको समग्र मुक्तिसित जोडिएको अर्थसामाजिक विषय हो । त्यसो र महिला भेदभाव र हिंसाका सानाभन्दा साना घटनादेखि लिएर बलात्कार जस्ता जघन्य घटनाहरुको स्रोत र मुख्यकारक तत्व पनि त्यसभित्र नै खोजिनुपर्दछ । तर मुख्य विषयलाई डाइभर्ट गरेर पुरूष लिङ्ग र स्त्री योनीको मात्र कुरा गर्ने, योनी भएकै कारण स्त्रीले बलात्कार जस्ता जघन्य घटनाहरु खप्नुपर्ने वा परेको जस्ता तर्क र मान्यताहरूलाई स्थापित गर्न खोज्ने स्त्रीवादी यौनवादी चेतना महिलामुक्तिको नाममा पनि पेशकश हुने र भइराखेको यतिबेला बढो आकर्षक र दमदार देखिन्छ । बढो विद्रोही, आकर्षक र ¥याडिकिल देखिने नारीवादले यतिबेला स्त्रीचेतनाको सामाजिक र सांस्कृतिक स्टेट्सलाई स्त्रीयोनीसँग मात्र जोडेर त्यसको समर्थन वा विरोध गर्ने नाममा अन्ततः महिला योनी मात्रमा समग्र महिला समस्या र मुक्तिको विषयलाई केन्द्रित गरेको बुझ्न गाह्रो हुँदैन ।
यसको कारणमा निजी सम्पत्तिमाथि आधारित सामाजिक उत्पादन सम्बन्धसित जोडिएको महिलामुक्तिको मुल गम्भीर अर्थराजनैतिक– सामाजिक प्रश्नलाई, श्रमजीवि सर्वहारा महिलाहरूको दृष्टिकोण बिहीन बनाउँदै, जहिलेसुकै मध्यमवर्गीय सोंच र दृष्टिकोणले काटछाँट र नापजोख गरेर, सर्वहारा वर्गका महिलालगायतका समस्याको हललाई महिला योनीको समर्थनमा पुरूषको सद्देलिङ्ग वा बलात्कारी लिङ्गको विरोधको स्त्रीमुक्तिको स्त्रीवादी नुस्का, उपाय र अपील, महिलामुक्तिकै हिमायतीहरूबाट पनि यतिबेलाको पेशकश गज्जब लाग्दछ ।
परिवारभित्र र बाहिर समाजमा महिलामाथि हुने जुनसुकै विभेद र बलात्कार जस्ता घटना घटाउन स्त्रीद्वेषी समाजको सामाजिक चरित्र र स्त्रीविरोधी विकृत/कुरूप सोच, मूल्य मान्यता र मानसिकताले पनि मुख्य भूमिका खेलेको कुरालाई उजागर नगर्नु समस्या हो । समकालीन समग्र परिदृश्यमा स्त्रीद्वेषी पितृसत्तावादी पूँजीवादी भूमण्डलीकृत सत्ता, संरचना र वैचारिकताको विरोधलाई, महिला समस्या र मुक्तिको मुल/केन्द्रीय विषयवस्तु बनाउनुपर्नेमा पुरूष लिङ्ग र महिला योनी मात्रको बिषयलाई बहस र बहसको केन्द्र बनाइनु र बनाउन खोज्नुले अन्ततः महिला मुक्तिको अर्थसामाजिक सम्बन्ध र व्यवस्थासित जोडिएको वर्गीय प्रश्नको मुल विषय, तर्क र ओरियेन्टेशनलाई नै दिग्भ्रमित र ओझेलमा पार्ने निश्चित देखिन्छ ।
स्त्रीमाथि हुने लिङ्गिय विभेद, हिंसा र बलात्कार जस्ता घटनालाई सर्वहारा दृष्टिकोणसहितको वर्गीय प्रश्न र सापेक्षतामा हल गर्ने विषयलाई यतिबेला केन्द्रीय विषय बनाइनु पर्नेमा त्यस विपरित शहरी मध्यम वर्गले स्त्रीवादको लिङ्ग र योनी मात्रको सापेक्षतामा महिला समस्या र मुक्तिको प्रश्नलाई बुझ्ने र उठाउने गरेको छ । यसले महिला मुक्तिको समग्र प्रश्नलाई कसरी र कति हल गर्नसक्छ र आजसम्म कति हल गर्न सकेको छ प्रश्न कायमै छ । महिला मुक्तिका खास हिमायतीहरूले त्यतापट्टि प्रश्न सोझ्याउनु पर्ने र उठाउनु पर्ने हो न कि बाहिरी र सतही तवरमा मात्रै आकर्षक र रयाडेकिल देखिने स्त्रीवादको ट्रेन्डमा ट्रेन्ड भएर । महिला मुक्तिको सामाजिक सत्तासित जोडिएको मुल राजनैतिक प्रश्नलाई नै धरापमा पार्दै अन्ततः लजिक्ली स्त्रीवादको वर्गनिरपेक्ष राजनैतिक र सामाजिक सुधारवादी ट्रेन्डलाई स्थापित गर्न खोज्ने कुरा निश्चय पनि त्यो महिलामुक्तिका हिमायतीहरूका लागि पनि राम्रो कुरा हुनेछैन र हुँदैन नै । सो यतिबेला त्यतापट्टि ध्यान पु¥याउनु आवश्यक हुन्छ शायद ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies