
पोखरा : वासना क्रियसनको निर्माणमा बन्न लागेको नेपाली कथानक चलचित्र ‘हितको माया’का लागि मुख्य कलाकार छनोट गर्न आयोजित अडिसन सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका १७ मुस्ताङचोकमा रहेको पार्दी माध्यमिक विद्यालयमा आयोजना गरिएको अडिसनका लागि उत्साहजनक उपस्थिति रहेको थियो । अडिसनमा ४१ जना महिला र २७ जना पुरुष गरी कुल ६८ जनाले सहभागिता जनाएका थिए । मुख्य कलाकारतर्फ नायक २, नायिका २ गरी ४ जना र बाबा, आमा, मामा, माइजूलगायत अन्य भूमिकाका लागि सहायक कलाकारतर्फ २३ जनाका लागि आवेदन खुला रहेको थियो ।
मोफसलमा रहेर कलाकारिता क्षेत्रमा दशकौंदेखि संघर्ष गरिरहेका मानोज बि.क. भावुकको निर्देशनमा निर्माण हुन लागेको चलचित्र पोखराका विभिन्न रमणीय ठाउँहरुमा छायांकन गरिने आयोजकतर्फका व्यवस्थापक भरत अधिकारीले जानकारी दिएका छन् ।
मोफसलबाट ठुलो पर्दाको चलचित्र निर्माण गरेर मोफसलकै कलाकारहरूलाई प्राथमिकतामा राख्दै अडिसनको आयोजना गरिएको बताउने निर्देशक भावुक आफ्नो लामो समयदेखिको संघर्षलाई एउटा इतिहास बनाउने यात्रामा रहेका छन् । करिब ३ दशकदेखि यस क्षेत्रमा निरन्तर लागिरहेका भावुकले सुरुवातदेखि संगीतकार, गीतकारको रूपमा काम गर्दै सयौं म्युजिक भिडियो निर्देशन गरेका छन् । उनले पछिल्लो समय केही सर्ट फिल्महरू लेखन तथा निर्देशन गरी बजारमा ल्याइसकेका छन् भने आफूले निर्माण गरेका गीत तथा फिल्म सबै आफैंले सम्पादनसमेत गर्ने गरेका छन् ।
अहिले निर्माण गर्न लागेको चलचित्र ‘हितको माया’ उनी आफैंले लेखन तथा निर्देशन गर्दै छन् भने आफ्नै कम्पनी वासना कला केन्द्रबाट पहिलो प्रस्तुतिमार्फत बजारमा ल्याउँदै छन् । पोखरामा सम्पन्न भएको अडिसनमा भावुकसँगै गम्भीर रानामगर, सुवास सुवेदी, सुचेन्द्र परियार र माधव गुरुङ निर्णायक भूमिकामा रहेका थिए । अन्य प्राविधिक पक्षसँगै कलाकार छनोट प्रक्रिया सकिएलगत्तै चैतको पहिलो सातादेखि चलचित्र छायांकनमा जाने बताइएको छ भने चलचित्र निर्माण पश्चात् नेपाललगायत युके, बेल्जियम, जापान र हङकङमा प्रदर्शन गरिने बताइएको छ ।