२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग मन्त्री भण्डारीको आग्रह

Nada
२०८१ साउन १८ गते ०६:३५
Shares
आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग मन्त्री भण्डारीको आग्रह

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरणका लागि आन्तरिक रोजगारी सिर्जना गर्ने नेपाल सरकारको योजनामा सहयोग गर्न विश्व बैंक र अन्य पक्षसँग आग्रह गरेका छन् ।

ncell

श्रम मन्त्रालयमा बिहीबार विश्व बैंकका आवासीय निर्देशक डेभिड सिस्लेनसँगको भेटमा मन्त्री भण्डारीले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्न आन्तरिक रोजगारीलाई दिगो बनाउने योजनामा नेपाल सरकारले काम गरिरहेको जानकारी गराउँदै उक्त आग्रह गरेका हुन् ।

स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई  विकास साझेदारलगायतसँगको सहकार्य र प्राविधिक सहयोगमा ‘जब हब’का रुपमा विकास गरिने बताउँदै श्रममन्त्री भण्डारीले नेपालका विकास साझेदारहरूले त्यसतर्फ आफ्ना प्रयासलाई केन्द्रित गर्न जरुरी रहेको बताएको मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

जवाफमा विश्व बैंक आवासीय निर्देशक सिस्लेनले आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंक सदैव तयार रहेको बताएका छन्  । यसका अतिरिक्त आन्तरिक रोजगारी वृद्धि र रोजगार सेवा केन्द्रको दिगोपना तथा सवलीकरण गर्ने सम्बन्धमा पनि छलफल भएको श्रम मन्त्रालयले जनाएको छ ।

यसअघि बुधबार मन्त्री भण्डारीसँग नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डेनियल मेउली र नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क ताई यंगले गरेकोे भेटमा पनि आप्रवासनका सवाल र रोजगार सेवा केन्द्रको सवलीकरण गर्ने सम्बन्धमा छलफल भएको थियो । त्यस अवसरमा मन्त्री भण्डारीले नेपालले रोजगार सेवा केन्द्रलाई रोजगारीको केन्द्रका रूपमा विकास गर्न सम्बन्धित विकास साझेदारसँगको सामूहिक छलफलबाट निष्कर्षमा पुग्ने र आप्रवासनका सवालको सम्बोधनमा पनि सरोकारवाला सबैसँगको सहकार्यमा गर्न चाहेको बताएका थिए । 

कोरियाली राजदूत पार्क ताई यंगसँग कोरिया र नेपालबीच भएको ईपीएस कोरियासम्बन्धी द्विपक्षीय समझदारी र कोरिया रिटर्नीको सीप क्षमता सदुपयोगलगायतका विषयमा छलफल भएको मन्त्रालयले बताएको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर