
क्वालालम्पुर : मलेसियाले श्रमिकको न्यूनतम तलब २ हजार रिंगेट पुर्याएको छ । शुक्रबार सार्वजनिक आगामी वर्ष २०२७ काे बजेटमा अर्थमन्त्रीकाे समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री अनवर इब्राहिमले न्यूनतम तलब २ हजार रिंगेट पुर्याउँदै करका दरहरू घटाएका छन् । उनले लाखौंका लागि अनुदान सहायता बढाएको घाेषणा पनि गरे । प्रतिशतका हिसाबले तलब वृद्धि करिब १८ प्रतिशत हाे ।
नयाँ तलबमान सन् २०२७ को जुन महिनादेखि लागू हुने जनाइएको छ । यससँगै अब जुन २०२७ देखि नेपाली श्रमिकको पनि न्यूनतम मासिक तलब करिब साढे ७५ हजार रुपैयाँ हुने भएको छ ।
मलेसियामा १ करोड ७३ लाख जनशक्ति कार्यरत रहेकोमा आप्रवासी श्रमिकको संख्या २१ लाख ४० हजार रहेको छ। त्यसमा वैधानिक नेपालीको संख्या साढे ४ लाख रहेको अनुमान छ ।
मलेसियामा सबै श्रमिकको न्यूनतम तलब बराबर हुने भएकाले तलब वृद्धि भएसँगै त्यसको प्रत्यक्ष लाभ त्यहाँ कार्यरत नेपालीले पाउने भएका छन् । त्यसको सकारात्मक असर नेपाली अर्थतन्त्रमा पनि देखिनेछ ।
कतिपय संसादहरूले विदेशी श्रमिकको तलब बढाउन नहुने बताएका थिए । मलेसियन ट्रेड्स युनियन कांग्रेसले बढ्दो महँगी र जीवनयापनको खर्चलाई मध्यनजर गर्दै आगामी बजेट २०२७ मा देशको न्यूनतम मासिक पारिश्रमिक बढाएर ३ हजार १ सय पुर्याउन बिहीबार साँझसम्म पनि मलेसिया सरकारसँग जोडदार माग गरेको थियो ।
युनियनले हालको १७ सय रिंगेटले श्रमिकहरूलाई आधारभूत आवश्यकता पूरा गर्न समेत धौ-धौ परिरहेको भन्दै यसलाई 'लिभिङ वेज'को रूपमा तलब परिमार्जन गर्नुपर्ने अडान राखेको थियो । हाल मलेसियाका केही ठुला सरकारी स्वामित्वका कम्पनीहरूले आफ्ना स्थानीय स्थायी कर्मचारीहरूलाई ३ हजार हाराहारीमा पारिश्रमिक दिन सुरु गरिसकेकाे बताइएकाे छ ।