२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

मलेसियामा तलब वृद्धि : कोही खुसी, कोही सशंकित

Nada
तिलोचन गौतम
२०८३ असोज २५ गते ०६:१५
Shares
मलेसियामा तलब वृद्धि : कोही खुसी, कोही सशंकित

क्वालालम्पुर, मलेसिया : संसारलाई नै चकित पार्ने गरी मलेसियामा भएको न्यूनतम तलब वृद्धिले ठुलो संख्यामा श्रमिक खुसी भए पनि विगतदेखि न्यूनतम तलब नपाएको गुनासो गरिरहेका सेक्युरिटी गार्डहरू बढेको तलब पाउनेमा सशंकित देखिन्छन् ।

ncell

अधिकांश सेक्युरिटी गार्डले दुई वर्षअघि वृद्धि भएको मासिक १७ सय रिंगेटसमेत पाउन नसकेको अवस्थामा आगामी जुनदेखि बढ्ने २ हजार रिंगेट पाउने बलियो आधार नदेखेको बताएका छन् । मलेसियाका प्रधानमन्त्री डा. अनवर इब्राहिमले शुक्रबार आगामी जुनदेखि मासिक तलब २ हजार रिंगेट हुने घोषणा गरेपछि सामाजिक सञ्जालमा तलब बढेको भन्दै सकारात्मक समाचार फैलिएको छ ।

हाल मलेसियामा सेक्युरिटी गार्डको रोजगारी गरिरहेका नुवाकोटका श्याम लामा भन्छन्, मलेसियामा रहेका ४ लाख वैधानिक नेपाली श्रमिकमध्ये करिब २ लाखले यसअघिको १७ सय रिंगेट मासिक तलब पाउन सकेका छैनन् ।’

मलेसियास्थित नेपाली दूतावास र मलेसियाको श्रम विभागको अनुगमन प्रभावकारी नहुँदा सेक्युरिटी गार्डले लामो समय काम गर्दा पनि पूरा तलब नपाएको गुनासो गरिरहेका छन् । नेपाली दूतावासले तोकिएको तलब श्रमिकको बैंक खातामार्फत दिलाउने उच्चस्तरको प्रयास भए पनि जनशक्तिको अभावमा रोजगारदाताको अनुगमनमा समस्या रहेको स्वीकार गर्दै आएको छ ।

मलेसियामा मासिक ४ सय ८१ रिंगेट तलब हुँदा काम सुरु गरेका नेपाली श्रमिक अहिलेसम्म पनि काम गरिरहेका छन् । मलेसियामा ४ सय ८१, ५ सय ४६, ६ सय ३०, ९ सय, १२ सय, १५ सय, १७ सय हुँदै २ हजार रिंगेटसम्मको आधारभूत तलब भएको हो । तर, साना तथा मझौला व्यवसायलाई कार्यान्वयनमा छुट दिइएकाले सबै श्रमिकले एकै समयमा नयाँ तलब पाउने अवस्था छैन । 

खासगरी मलेसियाको सुरक्षा क्षेत्रमा कार्यरत नेपाली सेक्युरिटी गार्डका लागि भने मुख्य प्रश्न तलब बढ्नु मात्र नभएर कम्पनीले नयाँ न्यूनतम तलब र ओभरटाइमको रकम कानुनअनुसार दिन्छन् कि दिँदैनन् भन्ने रहेको छ । सरकारले तलब बढाउने घोषणा ग¥यो भन्दैमा अब श्रमिकले वास्तविक लाभ पाउने सुनिश्चितता भयो भनेर भन्न नसकिने कतिपयको टिप्पणी छ । मलेसियामा तलब बढेसँगै श्रमिकको अधिकार कार्यान्वयनमा पनि कडाइ हुनुपर्ने त्यहाँ कार्यरत रमेश कोइरी बताउँछन् ।

सेक्युरिटी क्षेत्रमा श्रम शोषण र बेथिति रहेका कारण नेपाली सेक्युरिटी गार्डहरूले बढेको तलबको पूर्ण लाभ पाउनेमा अन्योल छ । श्रम विभाग र मलेसियन ट्रेड युनियन कंग्रेसका अनुसार धेरै कम्पनीले हालकै न्यूनतम तलब १७ सय रिंगेटसमेत पूरा दिएका छैनन् । उनीहरूले १२ घण्टा खटाएर ओभरटाइम र भत्ता कटौती गर्ने तथा आधारभूत तलब कम देखाउने गरिरहेका छन् । यस्तो अवस्थामा कडाइका साथ अनुगमन गरी कम्पनीहरूको बदमासी नरोकिएसम्म सरकारले आधारभूत तलब बढाए पनि वास्तविक लाभ पाउन सेक्युरिटी गार्डहरूले अझै लामो संघर्ष गर्नुपर्ने लामा बताउँछन् ।

उनी भन्छन्, ‘आधारभूत तलब १७ सयबाट २ हजार रिंगेट भयो भनेर अहिले नै खुसी हुनुपर्ने अवस्था छैन । किनभने २०२७ को जुनदेखि लागू हुने भनिएको छ । त्यतिन्जेल कम्पनीहरूले गर्ने ठगी रोक्न सरकारी तहबाट हस्तक्षेप हुन जरुरी छ ।’

सम्बन्धित खबर