
काठमाडौंः टर्कीले इरानसँगको आफ्नो सीमानामा यात्रु आवागमनलाई अस्थायी रूपमा स्थगित गरेको छ । यद्यपि व्यापारिक कारोबार र आधिकारिक प्रवेश सहज रूपमा जारी रहने सुनिश्चित गरिएको अधिकारीहरूले जनाएका छन् । टर्कीको व्यापार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तीन प्रमुख स्थलमार्गका सीमा नाकाहरूमा यात्रु आवागमनलाई सावधानीका उपायका रूपमा आपसी सहमतिमा स्थगित गरिएको जनाएको छ ।
मन्त्रालयले सीमा नाकाहरूमा कुनै असाधारण अवस्था नरहेको र दुई देशहरूबीच व्यापारिक मालसामानको आवागमन नियन्त्रित र व्यवस्थित ढङ्गले जारी रहेकोमा जोड दिएको छ । मन्त्रालयले इरानले आफ्ना नागरिकहरूलाई टर्की हुँदै आफ्नै भूमिमा प्रवेश गर्न अनुमति दिइरहेको र टर्कीले पनि आफ्ना नागरिकहरूका साथै इरानबाट आउने तेस्रो मुलुकका नागरिकहरूलाई प्रवेशमा रोक नलगाएको स्पष्ट पारेको छ । आफ्नो तयारीको अवस्थामा रहेको जनाउँदै मन्त्रालयले सबै सम्बन्धित एकाइहरूलाई उच्च शतर्कतामा राखिएको र थप कर्मचारी तथा नियन्त्रण पूर्वाधारलाई सुदृढ पारिएको बताएको छ ।
यसअघि, तेहरानस्थित टर्कीको दुतावासले इरानमा रहेका टर्कीका नागरिकहरूलाई सुरक्षित क्षेत्रमा रहन र अनावश्यक यात्रा नगर्न आग्रह गर्दै एक सुरक्षा चेतावनी जारी गरेको थियो । दुतावासले इरानमा अमेरिका र इजरायलद्वारा हालै गरिएका हमलाहरूका कारण बढ्दो क्षेत्रीय तनावका बीच टर्कीका इरानसँगका स्थलमार्गका सीमा नाकाहरू खुला नै रहेको र यसले नागरिकहरूलाई सडक मार्गबाट घर फर्कन सहज हुने कुरामा जोड दिएको थियो । एजेन्सी