
नवलपरासी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान जारी छ । सोहीअनुसार पश्चिम नवलपरासीमा पनि बिहान ७ बजेदेखि मतदान जारी छ । नवलपरासी निर्वाचन क्षेत्र नं. २ का विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरू बिहानैदेखि लाइनमा बसेर उत्साहका साथ आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।
निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान केन्द्र तथा आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र निर्वाचन प्रहरी परिचालन गरिएको छ भने नेपाली सेनाले गस्ती गर्दै समग्र सुरक्षा व्यवस्थालाई मजबुत बनाएको छ ।
यसै क्रममा पाल्हीनन्दन गाउँपालिका-१ अन्तर्गत पर्ने श्री बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरी मा स्थापना गरिएको मतदान केन्द्रमा पनि शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । बिहानैदेखि स्थानीय मतदाताहरू केन्द्रमा पुगेर व्यवस्थित रूपमा मतदान गरिरहेका छन् ।
पालिकाभित्रका अन्य वडाहरूमा पनि विभिन्न विद्यालय तथा सार्वजनिक स्थलहरूमा मतदान केन्द्र तोकिएको छ । वडा नं. २ मा पल्ही आधारभूत विद्यालय र हरपुर माध्यमिक विद्यालय, वडा नं. ३ मा सिद्धार्थ माध्यमिक विद्यालय, पशुपति शिक्षा मन्दिर तथा जनता आधारभूत विद्यालय, वडा नं. ४ मा जनता लोहरौली माध्यमिक विद्यालय र पाल्ही आधारभूत विद्यालय, वडा नं. ५ मा राजनारायण माध्यमिक विद्यालय तथा वडा नं. ६ मा सुखदेव माध्यमिक विद्यालय र सनाई वडा कार्यालय मा मतदान केन्द्र स्थापना गरिएको छ ।
जिल्ला प्रशासनका अनुसार हालसम्म जिल्लाका अधिकांश मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रमा पुगेर लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सुरक्षाकर्मीहरू उच्च सतर्कतामा रहेका छन् भने निर्वाचन कर्मचारीहरू पनि मतदान प्रक्रियालाई व्यवस्थित रूपमा सञ्चालन गरिरहेका छन् ।
निर्वाचनका कारण जिल्लाका मुख्य बजार, चौक तथा गाउँ–बस्तीका सडकहरू भने आज प्रायः सुनसान देखिएका छन् । विशेषगरी महेशपुर लगायतका मुख्य बजार क्षेत्रमा पसलहरू आंशिक रूपमा बन्द रहँदा चहलपहल कम देखिएको छ । अधिकांश नागरिक मतदान केन्द्रतर्फ केन्द्रित भएकाले बजार र सडकहरू अपेक्षाकृत सुनसान देखिएको स्थानीयले बताएका छन् ।
स्थानीय तहदेखि जिल्लास्तरसम्मका सरोकारवाला निकायहरूले मतदानलाई मर्यादित,भयरहित र निष्पक्ष बनाउन आवश्यक समन्वय गर्दै आएका छन् । निर्वाचनप्रति नागरिकको बढ्दो उत्साहले लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास अझ मजबुत हुँदै गएको स्थानीयहरूले बताएका छन् ।