
पोखरा : पोखरास्थित त्रिवेणी संगीतालयमा मौलिक धारको अत्यन्तै कर्णप्रिय आधुनिक ‘भोलिको दिन हजुर कसले देखेको छ र’ बोलको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।
गीतमा वरिष्ठ गीतकार, संगीतकार तथा संगीत प्रशिक्षक युवराज बरालको शब्द तथा संगीत रहेको छ । गीतमा लामो समयदेखि सांगीतिक क्षेत्रमा आफ्नो सुमधुर आवाज दिएकी गायिका सबिना सुनामको स्वर रहेको छ भने किशोर सुनारले गीतलाई एरेन्ज गरेका छन् ।
असामयिक निधनका कारण आफ्ना अति प्रिय व्यक्तिहरुसँग छुट्नु परेको पीडालाई भावमा उतार्दै गीतको सिर्जना गरिएको युवराज बरालले जानकारी दिए । एक दशकभन्दा लामो स्वास्थ्य समस्या पछि उनको आमाको निधन भएको थियो भने सडक दुर्घटनामा उनका अत्यन्तै प्यारा विद्यार्थीको निधन भएको थियो । यही भावलाई उनले गीतमा उतारेका हुन् । दुई सयभन्दा बढी गीत सिर्जना गरिसकेका बरालले यो गीत चाहिँ आफ्ना लागि विशेष भएको बताउँछन् ।
मोफसलमा सयौं लगायत छोटो फिल्म टेलिसिरियलसँगै अहिले ठुलो पर्दाको चलचित्र निर्माणको तयारीमा रहेका निर्देशक मनोज बि.क. भावुकको निर्देशन तथा छायांकन रहेको गीतको भिडियोमा युवराज बराल, गायिका सबिना सुनामसहित त्रिवेणी संगीतालयका सम्पूर्ण परिवारले अभिनय गरेका छन् । म्युजिक भिडियोमा ढोलक प्राञ्जल पौडेल, पियानो आकृष सुनार, बाँसुरी राजन बराल र सुदीप दराइ, गितार किशोर सुनारका साथै भायोलिनमा सानु जोजिजोले सांकेतिक अभिनयको प्रस्तुति दिएका छन् ।