२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

रास्वपाको लहर : नवलपरासीका दुवै सिट कब्जा

shivam cement
विनोद निगम
२०८२ फागुन २४ गते २१:१९
Shares
रास्वपाको लहर : नवलपरासीका दुवै सिट कब्जा

नवलपरासी : पश्चिम नवलपरासीका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक सफलता हासिल गरेको छ ।

जिल्लाका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारलाई अत्यन्तै फराकिलो मतान्तरले पछि पार्दै स्पष्ट जित दर्ता गरेका हुन् । यस परिणामसँगै नवलपरासीको राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तन आएको विश्लेषण गरिएको छ ।

मतपरिणामले परम्परागत राजनीतिक दलहरूभन्दा नयाँ राजनीतिक शक्तिप्रति मतदाताको आकर्षण र विश्वास बढ्दो रूपमा देखिएको संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार विक्रम खनाल ४५ हजार २ सय ४१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेस का उम्मेदवार विनोदकुमार चौधरी लाई ३५ हजार ७ सय ३९ मतान्तरले पछि पार्दै प्रभावशाली जीत हासिल गरेका हुन् । कुल ८२ हजार १ सय ७ मतमध्ये चौधरीले ९ हजार ५ सय २ मत मात्र प्राप्त गरेका छन् । 

यसै क्षेत्रमा तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामप्रसाद पाण्डे ७ हजार ९ सय ५६ मतसहित रहेका छन् । पूर्वमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपाल का हृदयेश त्रिपाठी ७ हजार ८ सय ३२ मतसहित चौथो स्थानमा सीमित भए ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी का नवनितकुमार मिश्र ले १ हजार ५ सय ९३ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टी की सिन्धु जलेसा बुढाथोकी १ हजार ५६ मतमा सीमित भइन्। अन्य उम्मेदवारले ७ मतदेखि ८ सय मतसम्म मात्र प्राप्त गरेका छन् । यस निर्वाचन क्षेत्रमा ११ स्वतन्त्रसहित कुल २६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।

निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको छ । यहाँ रास्वपाका उम्मेदवार नरेन्द्रकुमार गुप्ता ४४ हजार १ सय ३८ मतसहित विजयी भएका छन्। उनले नेपाली कांग्रेस का उम्मेदवार भीमबहादुर थापा लाई २८ हजार १ सय ९३ मतान्तरले पछि पार्दै स्पष्ट जित हासिल गरेका हुन् । कुल ८८ हजार ९ सय १५ मतमध्ये थापाले १५ हजार ९ सय ४५ मत प्राप्त गरेका छन् । 

यस क्षेत्रमा तेस्रो स्थानमा जनता समाजवादी पार्टी नेपाल का देवेन्द्र यादव ७ हजार २ सय १२ मतसहित रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी का ध्रुवबहादुर प्रधान ले ४ हजार ६ सय ९१ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लेखनाथ खरेल ले ४ हजार ३ सय ११ मत पाएका छन् ।

त्यसैगरी राष्ट्रिय मुक्ति पार्टी का गोबिन्द चौधरी ले २ हजार २९ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी का देवेन्द्र पौडेल १ हजार ८ सय ३८ मतमा सीमित भएका छन् । स्वतन्त्र उम्मेदवार रामबहादुर केवट ले ७ सय ५२ मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवार ४ मतदेखि ४ सय मतको सेरोफेरोमा सीमित भएका छन्। यस क्षेत्रमा १२ स्वतन्त्रसहित कुल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।

मतपरिणामले देखायो मतदाताको नयाँ झुकाव दुवै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तरसहित विजय हासिल गरेपछि नवलपरासीको राजनीतिक शक्ति सन्तुलनमा ठूलो परिवर्तन देखिएको छ । लामो समयदेखि प्रभाव जमाइरहेका परम्परागत दलहरूलाई पछि पार्दै नयाँ राजनीतिक शक्तिले बलियो उपस्थिति जनाएको राजनीतिक विश्लेषकहरू बताउँछन् । विशेषगरी युवापुस्ता, वैदेशिक रोजगारीबाट फर्किएका मतदाता तथा परिवर्तनको अपेक्षा राख्ने मतदाताको ठूलो समर्थन रास्वपातर्फ गएको आकलन गरिएको छ । चुनावी परिणामले नवलपरासीमा आगामी दिनमा राजनीतिक प्रतिस्पर्धा अझ रोचक र चुनौतीपूर्ण बन्ने संकेत समेत गरेको छ ।

सम्बन्धित खबर