
काठमाडौंः पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको अमेरिकी केसी–१३५ इन्धन भर्ने विमानमा सवार चालक दलका सबै ६ जना सदस्यको मृत्यु भएको अमेरिकी केन्द्रीय कमाण्डले पुष्टि गरेको छ । अपरेशन एपिक फ्युरीको क्रममा बिहीवार मित्र राष्ट्रको हवाई क्षेत्रमा उडान भर्दै गर्दा उक्त विमान सम्पर्कविहीन भएको कमाण्डले जानकारी दिएको थियो ।
कमाण्डले घटनाको परिस्थितिबारे अनुसन्धान भइरहेको थप जानकारी दिँदै विमानको क्षति शत्रुको आक्रमण वा आफ्नै पक्षको आक्रमणको कारणले नभएको दाबी गरेको छ । यसैबीच, इराकका इरान समर्थक लडाकु समूहहरूको छाता सङ्गठन इस्लामिक रेजिस्टेन्स इन इराकले शुक्रवार आफ्ना लडाकुहरूले पश्चिमी इराकमा दुईवटा अमेरिकी केसी–१३५ इन्धन भर्ने विमानलाई लक्षित गरेको बताएको छ ।
दुई छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उक्त समूहले आफ्ना लडाकुहरूले एउटा केसी–१३५ लाई उपयुक्त हतियार प्रयोग गरी खसालेको र सोही प्रकारको दोस्रो विमानलाई पनि आक्रमण गरिएको दाबी गरेको छ । दोस्रो विमानका चालक दलले शत्रुको कुनै एक विमानस्थलमा आपतकालीन अवतरण गरेको समूहको भनाइ छ । उडानकै क्रममा अन्य सैन्य विमानहरूमा इन्धन भर्न डिजाइन गरिएको केसी–१३५ विमानले ६० वर्षभन्दा बढी समयदेखि अमेरिकी वायुसेनाको प्रमुख हवाई इन्धन भर्ने प्लेटफर्मको रूपमा सेवा गर्दै आएको छ ।