
टोकियो : जापानमा नेपाली पत्रकारितामा सक्रिय पत्रकार तिलक मल्ल ‘प्रवास पत्रकारिता पुरस्कार २०२६’ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १५औं स्थापना दिवसका अवसरमा आइतबार टोकियोमा आयोजित कार्यक्रममा उनलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
पुरस्कारको राशि ५० हजार येन रहेको महासंघले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास जापानका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले मल्ललाई पुरस्कार प्रदान गर्दै सम्मान गरेका थिए ।
जापानस्थित नेपाली समुदायलाई समाचार तथा विचारमार्फत सूचित गराउँदै आएका मल्ल नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष समेत हुन् । उनी टोकियोबाट समाचारमूलक अनलाइन पोर्टल ‘समुन्द्रपारी डट कम’ सञ्चालन गर्नुका साथै ‘नेपाली समाचार’ नामक पाक्षिक पत्रिका प्रकाशन गर्दै आएका छन् ।

स्थापना दिवसको अवसरमा जापानमा सञ्चालित नेपाली मिडिया र विभिन्न संघ–संस्थाबीच सहकार्यका विषयमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । सोही अवसरमा पत्रकार कल्याण कोष स्थापना गर्ने घोषणा गरिएको छ । महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठका अनुसार कोषको सुरुवाती चरणमै एक लाख येन संकलन भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले भिडियो सन्देशमार्फत स्थापना दिवसको शुभकामना व्यक्त गर्दै जापान शाखाले त्यहाँको नेपाली समुदायको हितमा अझ सक्रिय रूपमा काम गर्नुपर्ने सुझाव दिएकी थिइन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, जापानस्थित नेपाली सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा मिडियाकर्मीहरूको सहभागिता रहेको थियो ।

