२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

'चौथो दम्माम च्याम्पियन कप २०२६' को तयारी पूरा, १४ टोलीबीच प्रतिस्पर्धा हुने

shivam cement
२०८२ चैत ४ गते ०९:०५
Shares
'चौथो दम्माम च्याम्पियन कप २०२६' को तयारी पूरा, १४ टोलीबीच प्रतिस्पर्धा हुने

दम्माम, साउदी अरब : साउदी अरबको दम्माममा क्रियाशील युनाइटेड नेपाल फुटबल क्लब (युएनएफसी) को आयोजनामा हुन लागेको 'चौथो दम्माम च्याम्पियन कप २०२६' को सम्पूर्ण तयारी पूरा भएको छ । मुस्लिम समुदायको महान् पर्व ईदुल फित्रको अवसर पारेर आगामी मार्च २० र २१ तारिखमा खोबरस्थित अजेजिया फुटबल मैदानमा आयोजना हुन लागेको यस प्रतियोगितामा साउदी अरबभरिका १४ वटा सक्रिय नेपाली फुटबल टोलीले सहभागिता जनाउने निश्चित भएको छ । 

प्रवासमा कार्यरत नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र खेलकुद भावना सुदृढ गर्ने लक्ष्यसहित सन् २०१४ देखि नै यो क्लबले यस्ता खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ । यसअघि २०२५ जुनमा आयोजित तेस्रो संस्करणको उपाधि आयोजक युनाइटेड एफसीले नै जितेको थियो भने यसपटकको प्रतियोगितालाई अझ भव्य बनाउन आयोजक टोली अहोरात्र खटिएको छ ।

प्रतियोगिताको पुरस्कार राशि यस पटक निकै आकर्षक राखिएको छ, जहाँ विजेता टोलीले ७ हजार साउदी रियाल (करिब २ लाख ६६ हजार नेपाली रुपैयाँ) सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी उपविजेताले ३ हजार ५ सय साउदी रियाल (करिब १ लाख ३३ हजार नेपाली रुपैयाँ) नगदका साथै ट्रफी र मेडल हात पार्नेछन् । 

नगद पुरस्कारका अतिरिक्त उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लगायत विभिन्न व्यक्तिगत विधामा पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । टिम दर्ताको प्रक्रिया सम्पन्न भइसकेको र ७ सय साउदी रियाल दर्ता शुल्क बुझाएर सहभागी भएका १४ वटै टोलीहरू अहिले मैदानमा उत्रिन निकै उत्साहित देखिएका छन् ।

आयोजक क्लबका अध्यक्ष ओम बहादुर कुमालका अनुसार, ईदुल फित्रजस्तो पवित्र पर्वको सार्वजनिक बिदा पारेर प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य समुदायमा खुसीयाली साट्नु र अपनत्वको भावना अभिवृद्धि गर्नु हो । क्लबका महासचिव कमल लो तामाङ र कोषाध्यक्ष विजय लिम्बू लगायतको व्यवस्थापकीय टोलीले प्राविधिक तयारीलाई अन्तिम रूप दिइसकेको छ । 

अध्यक्ष कुमालले यस प्रतियोगिताले साउदीमा रहेका नेपालीहरूलाई खेलमार्फत एकताबद्ध गर्ने र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् । दम्माम र आसपासका क्षेत्रमा रहेका सम्पूर्ण नेपाली खेलप्रेमीहरूलाई खेल स्थलमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

सम्बन्धित खबर