२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

पुनर्निर्माणको समय

shivam cement
२०८२ चैत ५ गते ०६:१०
Shares
पुनर्निर्माणको समय

गत भदौमा जेनजी आन्दोलनसँगै देशभर फैलिएको विध्वंसले ठूलो क्षति पुर्‍यायो । सरकारी तथ्यांकअनुसार त्यसक्रममा ८४ अर्ब ४५ करोडभन्दा धेरै नोक्सानी बेहोर्नुपर्‍यो । यसमध्ये सरकारी संरचनामा करिब ४४ अर्ब ९३ करोड, निजी क्षेत्रमा ३३ अर्ब ५४ करोड र अन्य क्षेत्रमा करिब पाँच अर्ब ९७ करोड क्षति भएको छ । व्यावसायिक प्रतिष्ठानमा सबैभन्दा बढी करिब २७ अर्ब ४९ करोडको भएको छ भने व्यक्तिगत संरचनामा करिब ६ अर्बबराबरको क्षति पुगेको सरकारी आँकडा छ । यो क्षतिको विस्तृत पुनर्निर्माण गर्न सरकारले कार्ययोजना तयार गरेको छ । कार्ययोजनाले तीनै तहका सरकारले आगामी वर्ष र त्यसपछिका दुई वर्षमा आवश्यक बजेट छुट्याउने व्यवस्था गरेको छ । कार्ययोजनाअनुसार पुनर्निर्माणलाई तत्कालीन, मध्यमकालीन र दीर्घकालीन चरणमा विभाजन गरी कार्यान्वयन गर्ने योजना बनाइएको छ । तीनै तहका सरकार, निजी क्षेत्र र गैरसरकारी संस्थासँग समन्वय गरेर दिगो पुनर्निर्माण अघि बढाउने कार्ययोजनामा छ । त्यसैले आउँदा केही वर्ष बजेटको महत्वपूर्ण हिस्सा पुनर्निर्माणमा खर्च हुने देखिन्छ । 

हामीले २०७२ को भूकम्पमा ठूलो क्षति बेहोर्‍यौं । त्यसक्रममा ठूलो भौतिक तथा मानवीय क्षति हुनपुग्यो । राष्ट्रिय पुनर्निर्माण आयोजना बनाएरै भौतिक पूर्वाधार निर्माण तथा मर्मत गरिएको थियो । त्यतिबेला सिंहदरबार पनि पुनर्निर्माण गरिएको थियो । झन्डै एक दशक लगाएर निर्माण गरिएका संरचनाहरू पुनः एकपटक खण्डहरमा परिणत भएका छन् । जेनजी आन्दोलनपछिको यो क्षतिको पुनर्निर्माणले पक्कै केही वर्ष लिनेछ । 

सरकारले सेवाग्राहीमैत्री, मितव्ययी र विपद्प्रतिरोधी पूर्वाधार निर्माणमा जोड दिएको छ । निजी क्षेत्रका लागि कर छुट, बिमा दाबी छिटो भुक्तानी, कर्जा पुनर्संरचना र सहुलियत ऋण उपलब्ध गराउने योजना छ । यसले व्यावसायिक गतिविधि छिटो सुचारु बनाउनेछ । यद्यपि योजना तयार भए पनि कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ । राजस्व संकलन कमजोर, खर्च बढिरहेको र आर्थिक दबाब उच्च छ । वित्तीय अनुशासन, पारदर्शिता र समन्वय सुनिश्चित नगरे पुनर्निर्माण समयमा सम्पन्न हुन कठिनाइ हुनेछ । तथापि, तीनै तहका सरकारले प्राथमिकता दिएर काम गर्दा जेनजी आन्दोलनबाट भएको भौतिक क्षतिको छिटो पुनर्निर्माण हुन सक्छ । त्यसका लागि नयाँ सरकारले पुनर्निर्माणलाई प्राथमिकतामा राख्न जरुरी छ । अब बन्ने नयाँ सरकारको नेतृत्व रास्वपाले गर्दै छ । उसका लागि सुशासनसँगै पुनर्निर्माण पनि मुख्य दायित्व बनेको छ । 

सम्बन्धित खबर