२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

होर्मुज क्षेत्रमा अवरोध लम्बिए कच्चा तेलको मूल्य तीव्र उकालो लाग्ने संकेत

shivam cement
२०८२ चैत ६ गते १२:३४
Shares
होर्मुज क्षेत्रमा अवरोध लम्बिए कच्चा तेलको मूल्य तीव्र उकालो लाग्ने संकेत

काठमाडौँ : मध्यपूर्व क्षेत्रको बढ्दो तनाव र सामरिक जलमार्गमा देखिएको अवरोधका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप दबाब पर्ने देखिएको छ । होर्मुज जलडमरूमध्यमा अवरोध अवस्था अप्रिल अन्त्यसम्म कायम रहे कच्चा तेलको मूल्य प्रति ब्यारेल १८० अमेरिकी डलरसम्म पुग्न सक्ने सम्भावना साउदी अरबका अधिकारीहरूले व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलले विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार उक्त मूल्यवृद्धि जोखिमबारे आन्तरिक मूल्यांकन गरिएको हो। पछिल्लो समय क्षेत्रीय द्वन्द्वको प्रभावले तेल बजारमा उच्च अस्थिरता देखिएको छ ।

फेब्रुअरी २८ देखि इरानसँग सम्बन्धित युद्ध सुरु भएपछि कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव देखिँदै आएको छ । यसै क्रममा बिहीबार ब्रेन्ट कच्चा तेलको मूल्य केही समयका लागि प्रति ब्यारेल ११९ डलर नजिक पुगेपछि पुनः घटेको थियो ।

रियादस्थित किङ फैसल अनुसन्धान तथा इस्लामिक अध्ययन केन्द्रसँग आबद्ध विदेश नीतिविज्ञ उमेर करिमले क्षेत्रीय द्वन्द्व लम्बिँदै गए कम्तीमा १५० डलर प्रतिव्यारेलसम्म मूल्य पुग्न सक्ने सम्भावना औँल्याएका छन् ।

यसबीच, साउदी अरबले खाडी क्षेत्रभन्दा टाढा रहेको लाल सागर किनारको यान्बु बन्दरगाहमार्फत तेल निर्यातलाई निरन्तरता दिएको छ । तर, इरान र इजरायलबीचको द्वन्द्वका कारण खाडी क्षेत्रका ऊर्जा पूर्वाधारहरू जोखिममा परिरहेका छन्, जसले वैकल्पिक आपूर्ति मार्गहरूमा समेत सुरक्षा चुनौती थपिएको छ ।

ताजा खबर

सम्बन्धित खबर