२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

शिशुलाई स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह

ADV
मध्यान्ह
२०८१ साउन १९ गते १३:४०
शिशुलाई स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह

बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गरेका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन्।

विश्व स्तनपान सप्ताहका अवसरमा कान्तिपुर हेल्थ अनलाइनद्वारा आज भरतपुरमा आयोजित ‘स्तनपानको महत्व: चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताए ।उनले भने, ‘आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन ।’ उनले बच्चाको माया ममता पनि कम हुने जाने बताए । उनले भने, ‘स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनुहुँदैन ।’

स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी रहेको बालरोग विशेषज्ञ डा गुप्ताले बताए ।  शिशुलाई जन्मिएदेखि छ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उनको भनाइ छ ।

बालरोग विशेषज्ञ डा गुप्ताले भने, ‘नियमित स्तनपान गर्ने शिशुमा निमोनिया, झाडापखाला, दम जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ ।’ बच्चाको शारीरिक विकासका लागि सकेसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै उनले काममा जानुपरेमा आमाको दूध संकलन गरेर राखेर भए पनि खुवाउन सकिने बताए । उनले भने, ‘आमाको दूध संकलन गरेर कोठाको तापक्रममा राखेमा ४ देखि ६ घण्टा र फ्रिजमा राखे २४ घण्टासम्म खुवाउन सकिन्छ ।’ फ्रिजमा राखेरको दूध सिधैँ नतताउन सुझाव दिँदै उनले भने, ‘तातो पानीमा अर्को भाडा राखेर दूधलाई तातो बनाउनुपर्छ, सिधैँ तताउनुहुँदैन ।’

शिशु जन्मिएको छ महिनापछि मात्रै पुरक खाना खुवाउन उपयुक्त हुने उनले बताए । अस्पतालमा शल्यक्रिया गरेर जन्मिएका नवजात शिशुहलाई दूध खुवाउन दिने गरी सरकारले नियम बनाउन सके यस्ता बच्चालाई आमाको दूध खुवाउन सकिने उनले उल्लेख गरे ।  अहिले शल्यक्रियाबाट जन्मिएका बच्चालाई सुरुआतमा बजारको पाउडर दूध खुवाउनुपर्ने अवस्था रहेको जनाउँदै उनले यसको अन्त्य गर्न सके बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो हुने बताए । रासस

ADVADV

सम्बन्धित खबर

Advertise