
काठमाडौँ : नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’ (एसएलएस) र ‘ओरियन’ अन्तरिक्ष यान लाई पुन: प्रक्षेपण स्थलमा ल्याएको छ ।
यी दुबै संरचना केनेडी स्पेस सेन्टर, फ्लोरिडामा रहेको भेहिकल एसेम्बली बिल्डिङबाट करिब ६.४ किलोमिटर दूरी तय गर्दै प्रक्षेपण स्थलसम्म पुर्याइएको हो । शुक्रबार बिहान १२:२० बजे (स्थानीय समय) यात्रा सुरु भएको यो प्रक्रिया करिब ११ घण्टापछि सम्पन्न भएको थियो ।
नासाका टोलीहरू अहिले अन्तिम चरणको प्रक्षेपण तयारीमा जुटेका छन् । आगामी आर्टेमिस २ मिशनको प्रक्षेपण झ्याल अप्रिल १ देखि अप्रिल ६ सम्म रहने तय गरिएको छ ।
यसअघि फेब्रुअरी २१ मा गरिएको ‘वेट ड्रेस रिहर्सल’ (अन्तिम परीक्षण) क्रममा रकेटको माथिल्लो भागमा हिलियम प्रवाह हुन नदिने समस्या देखिएको थियो । त्यसपछि मर्मतका लागि रकेट र अन्तरिक्ष यानलाई पुन: एसेम्बली भवनमा फर्काइएको थियो ।
मर्मतका क्रममा इन्जिनियरहरूले विभिन्न प्रणालीहरू पुन: परीक्षण तथा अद्यावधिक गरेका छन् । यसमा नयाँ फ्लाइट टर्मिनेसन सिस्टम ब्याट्री सक्रिय पार्ने, विभिन्न चरणका ब्याट्रीहरू परिवर्तन गर्ने तथा ओरियनको लन्च एबोर्ट सिस्टमका ब्याट्री चार्ज गर्ने काम गरिएको छ ।
यसका साथै, मुख्य चरणको तरल अक्सिजन लाइनको सिल परिवर्तन गरिएको छ र अक्सिजन आपूर्ति प्रणाली पुन: जडान गरी परीक्षण गरिएको नासाले जनाएको छ ।
आर्टेमिस २ मिशनअन्तर्गत चार अन्तरिक्षयात्रीलाई करिब १० दिनको यात्रामा चन्द्रमाको परिक्रमा गराएर पुन: पृथ्वीमा फर्काइनेछ। यसमा रीड वाइसम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यान्सन सहभागी रहनेछन् ।