
उदयपुर : युद्धग्रस्त देश इरानको सेनाका नियन्त्रणमा रहेका उदयपुरको एक युवालाई उद्दारका लागि उनको परिवारजनले नेपाल सरकारलाई आग्रह गरेका छन् । जिल्लाको त्रियुगा नगरपालिका ११ गाईघाट निवासी अमृत झा नियन्त्रणमा परेको परिवारले जनाएको छ । गएको छ दिन अघि देखि उनी नियन्त्रणमा परेको उनका भिनाजु राजेश झाले जानकारी दिए ।
पारिवारिक स्रोतका अनुसार वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षअघि उनी इरान गएका हुन् । इरानमा उनी पानीजहाज चलाउने पाइलट हुन् ।
पानीजहाज चलाउने कामकै सिलसिलामा उनी नियन्त्रणमा परेको जनाइएको छ । दुवईबाट पानीजहाज लिएर इरान जाने क्रममा इरानको बन्दर अब्बास बन्दरगाहबाट नियन्त्रणमा परेको र कारागारमा राखिएको परिवारले जनाएको छ । नियन्त्रणमा पर्नुको कारण भने प्रष्ट हुन सकेको छैन । तत्काल उद्धार गरिदिन परिवारले नेपाल सरकारलाई आग्रह गरेको छ । उनकी दिदी पूजा झाले परराष्ट्र मन्त्रालयमा उद्धारका लागि निवेदन दिँदै भाइलाई नेपाल फर्काइदिन अनुरोध समेत गरेकी छिन् ।