
काठमाडौँ : होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको चेतावनीको इरानले जवाफ दिएको छ ।
यदि आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण भएमा मध्यपूर्वमा रहेका अमेरिकासँग जोडिएका सबै ऊर्जा पूर्वाधारहरूमाथि प्रत्याक्रमण गर्ने चेतावनी इरानले दिएको हो ।
यसअघि शनिबार, ट्रम्पले आफ्नो युद्धको लक्ष्य निर्धारित समयभन्दा हप्तौं अगाडि नै हासिल गरिसकेको टिप्पणी पनि गरेका थिए, र इरानले सम्झौता गर्न चाहे पनि आफूले नचाहेको कुरामा जोड दिएका थिए ।
ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको समयसीमा दिएका थिए । ट्रम्पले यो समयावधिभित्र होर्मुज स्ट्रेट नखोलिए अमेरिकाले इरानी ऊर्जा केन्द्रहरू(पावर प्लान्टहरू) नष्ट गर्ने चेतावनी दिएसँगै इरानले पनि प्रत्याक्रमणको चेतावनी दिएको हो ।
सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को ढुवानी यसै जलसन्धि हुँदै जान्छ, जसले यसलाई विश्वव्यापी ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण बनाउँछ ।
ट्रम्पले दिएको अल्टिमेटम मार्च २४ मा तेहरानको समयअनुसार बिहान ०३:१४ बजे सकिन्छ ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, यदि आफूमाथि आक्रमण भएमा खाडी क्षेत्रभरि रहेका अमेरिकासँग जोडिएका ऊर्जा केन्द्रहरूलाई निशाना बनाउने तेहरानले बताएको छ ।
ट्रम्पले भनेका छन्, ‘यदि इरानले ठीक यसै समयदेखि ४८ घण्टाभित्र होर्मुज स्ट्रेटलाई पूर्ण रूपमा र विना कुनै धम्की खोलेन भने संयुक्त राज्य अमेरिकाले उनीहरूका विभिन्न ऊर्जा केन्द्रहरूमा प्रहार गरेर नष्ट गर्नेछ, जसको सुरुवात सबैभन्दा ठूलोबाट हुनेछ ।’