शनिबार मल बोकेको ट्रक किसानहरुले लुटेको सूचना मूख्य चासोमा प¥यो । तस्करले सीमा पारिबाट मल ल्याएको सूचना पाएपछि किसानहरुले योजनावद्ध लुटेका थिए । मल लुट्नबाट सुरक्षाकर्मीले पनि सकेनन् । सायद सुरक्षार्थ खटिएकाहरुको पनि किसानप्रति दया जागेको हुन सक्छ । किनकि निहत्था किसानबाट सुरक्षाकर्मीले मल जोगाउनै नसक्ने भन्ने कल्पना बाहिरको कुरा हो । तर किसानले मल लुटे, ट्रक रित्तियो । तस्करहरुले महँगो मूल्यमा बेच्न सीमापारीबाट सेटिङमा मल ल्याएको अनुमान गर्न सकिन्छ । किनकि मुुलुकभर अहिले मलको हाहाकार छ, सरकारले मल दिन सकेको छैन । तस्करहरुले भने तिनै किसानको आश्वयकता देखेर ब्यापक नाफा कमाउने प्रयोजनले मल ल्याएको हुनुपर्छ ।
यसरी तस्करहरुले सीमापारीबाट मल ल्याउने र महँगोमा विक्री गर्ने कार्य गर्दै आएको अनुमान पनि यो घटनाबाट सार्वजनिक भएको छ । यसअघि यस्ता घटना नभएकाले तस्करबाट मल आएको तथ्य सार्वजनिक हुन सकेको थिएन । तर जब किसानहरुले ट्रक रोकेर मल लुटे, यसपछि भने एकैपटक धेरै कुरा सार्वजनिक हुन पुग्यो । राज्यको लाचारी, तस्करहरुको धन्दा र वर्तमान अवस्थालाई यो घटनाले सतहमा ल्याइदिएको छ । तर पनि सरकारका अधिकारीहरुले किसानलाई मल उपलब्ध गराउने अवस्था नरहेको बताउने गरेका छन् । मलको अभाव वर्षेनिको दुख हो । तर सरकारले भने हरेक वर्ष कृषिको आधुनिकरण, यान्त्रिकरण र व्यावसायिकरणको नारा लगाउने गरेको छ । जबकी तथ्य भने किसानले सधैं मल अभावको सास्ती खेप्दै आएका छन् । मल नआउनुमा भने ठेकेदारलाई देखाएर सरकार पञ्छिने गरेका छन् वा निर्यातकर्ता पक्षबाट भएको विलम्बलाई कृषि मन्त्रीले देखाउने गरेका छन् ।
मल लुटिने अवस्था, ठेकेरदार वा निर्यातकर्ताका तर्फबाट हुने विलम्ब, तर राज्यको निरीहताले गम्भीर प्रश्न उठ्छ– आखिर देश कसले चलाउँछ ? यो प्रश्नलाई बलशाली बनाउने अन्य दृष्य र अभिव्यक्ति पनि यसैबेला देखिएको छ । जस्तो– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्टेट पाटनरसीप प्रोग्राम (एसपीपी) सम्झौताबारे आफूलाई जानकारी नदिइएको एक कार्यक्रममा बताएका छन् । अर्थात् प्रधानमन्त्रीलाई नै थाहा नदिई गम्भीर सम्झौता समेत अगाडि बढ्ने गरेको ओलीको भनाइले पुष्टि गर्छ । यदि यी र यस्ता घटनामा अन्य कारण नभए यो गम्भीर विषय हो । एउटा सार्वभौम, स्वतन्त्र र संविधानको सर्वोच्चतामा अडिएको मुलुकका लागि गम्भीर बिमर्शकै विषय हो । शासनसत्तामा बस्नेले मुलुकको हित र जनताको स्वार्थ बाहेक अरु तपसीलका कुरा हुन् भन्ने निष्कर्ष सहित राष्ट्रिय संकल्प गर्न जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies