
दोहा कतार : कतारका विदेश मन्त्रालयका प्रवक्ता माजीद अल-अंसारीले अमेरिका र इरानबीच भइरहेको भनिएको वार्तामा कतारको कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका अन्सारीसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको भनी दिएको बयानबारे सोधिएको प्रश्नमा उनले यसबारे सम्बन्धित पक्षलाई नै सोध्न सुझाव दिए l
खाडी राष्ट्रहरू र इरानबिच सहअस्तित्व अपरिहार्य रहेको बताउँदै अन्सारीले कतारले इरानी आक्रमणमध्ये ९० प्रतिशतभन्दा बढी प्रयास विफल पारेको दाबी गरे । मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा उनले अहिले कतारको मुख्य प्राथमिकता वार्ता गराउने भन्दा पनि आफ्नो देशको सुरक्षा गर्ने रहेको बताउँदै भने, "हामी यी वार्तामा छैनौं । हाम्रो अहिलेको ध्यान र चासो भनेकै आफ्नो देशलाई सुरक्षित राख्नु हो ।" यस क्षेत्रको बढ्दो तनावका बीच अन्सारीले इरानसँगको सम्बन्ध कस्तो रहने भन्ने इरानकै कदममा निर्भर रहने उल्लेख गरे ।
“कतार र इरानका जनताबीचको भ्रातृत्व सम्बन्ध राजनीतिक भन्दा माथि हुनुपर्छ,” उनले भने, “अब आफ्नो सार्वभौमिकता माथि भएको आक्रमणपछि गुमेको विश्वास कसरी पुनर्स्थापित गर्ने भन्ने इरानकै जिम्मेवारी हो । इरान हजारौँ वर्षदेखि यस क्षेत्रमा छ । यहाँका मानिसहरू पनि हजारौँ वर्षदेखि बस्दै आएका छन्। कोही पनि कतै जाने छैनन् ।”
विनाश कुनै विकल्प नभएको उनको भनाइ थियो l अन्सारीले द्वन्द्व अन्त्य गर्ने बाटो कूटनीति नै हुनुपर्ने र युद्धरत पक्षहरू जति चाँडो वार्ताको टेबुलमा आउँछन् त्यति नै राम्रो हुने धारणा राखेका थिए ।