२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

क्षेत्री समाज नेपाल कतार शाखाले मनायो स्थापना दिवस

ADV
तिलु शर्मा पौडेल
२०८१ साउन १९ गते २१:५६
क्षेत्री समाज नेपाल कतार शाखाले मनायो स्थापना दिवस

दोहा कतार : क्षेत्री समाज नेपाल कतार शाखाले आफ्नो १४ औं स्थापना दिवस तथा विशेष भेला सम्पन्न  गरेको छ । विविध सांस्कृतिक कार्यक्रमसहित क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष रिव बहादुर थापाको प्रमुख आतिथ्यता तथा कतार शाखाका अध्यक्ष श्याम कुमार डाँगीको सभापतित्वमा भेला सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रीय महासचिव कृष्ण बहादुर थापासहित कतारमा समाजसेवी बौद्धिक व्यक्तित्व, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको विशेष आतिथ्यता रहेको थियो । भेलामा कतारमा रहेका विभिन्न व्यक्तित्वहरुलाई फरक–फरक शीर्षकमा धारणा राख्नलाई विशेष समय प्रदान गरिएको थियो भने थुप्रै व्यक्तित्वहरूले नेपालमा क्षेत्रीहरूको इतिहास र बहादुरीका बारेमा बोलेका थिए ।

वक्ताहरूले लामो समयदेखि सुस्ताएको समाज पुनः जुरमुर्‍याएको हुँदा निरन्तरताका लागि शुभकामना दिएका थिए । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले आप्रवासीहरूको समस्याका बारेमा संघ सदैव साथमा रहेको बताएका थिए ।

समाजका संरक्षक रेशम बहादुर बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रममा कोसेली रोकाले स्वागत नृत्य राखेकी थिइन् । गुना मगर (निसु) ले मारुनी गीत गाउँदा अतिथिहरू छमछमी नाचेका थिए । जिया हमालले आकर्षक नृत्य पेस गरिन् भने गायिका सुमित्रा भट्टराई र गायक सुरेश विसीले आफ्ना गीतमार्फत उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए । 

भेलामा रेशम बस्नेत, महेश तामाङ, गोविन्द कटुवाल र बिर्मा खत्रीले सामूहिक गीत प्रस्तुत गरेका थिए भने नवीन नबिनाका साथमा पूरण सिंह मिलेर तयार पारेको गीति कथाले सबैको मन जितेको थियो । गीति कथामा प्रवासमा श्रीमानले दुःख पाइरहँदा नेपालमा श्रीमतीले परपुरुषसँग अनैतिक सम्बन्धमा रहेको र श्रीमान् प्रवासबाट बिरामी अवस्थामा नेपाल सुटुक्क फर्कँदा श्रीमतीलाई अर्कै पुरुषको अंगालोमा देखेपछि पिडा सहन नसकी आत्महत्यासम्म गर्नु परेको अवस्थालाई आकर्षक रूपमा चित्रण गरिएको थियो  । 

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै महासचिव थापाले समाजलाई नेपालसहित विश्वभर सञ्जाल विस्तार गर्ने समाजले लक्ष्य लिएको बताए । उनले आगामी २ सालभित्र ५ करोडको अक्षयकोषको स्थापना गर्न लागिएको बताए । 

कार्यक्रमका प्रमुख अतिथिले समाजको पछिल्लो संशोधित विधान समाजलाई हस्तान्तरण गर्दै कतार शाखालाई केन्द्रीय समितिले नयाँ विधान बमोजिम वैधानिकता प्रदान गरेको घोषणा गरेका थिए । उनले कतार शाखालाई शुभकामना दिँदै क्षेत्री समाज विशुद्ध समाज मात्र भएको र यस भित्र राजनीति खेल नखेलिएको स्पष्ट पारे । उनले प्रत्येक शाखाले आजीवन सदस्यता विस्तारलाई तीव्रता दिन आग्रह गरे ।

प्लाजा मलमा रहेको वेलफेर रेस्टुरेन्टमा सम्पन्न भेलामा नेपालबाट आएका अतिथिहरूले समाजका संस्थापकदेखि वर्तमान कार्यसमितिलाई संस्थाको लोगो अंकित ब्याच प्रदान गरेका थिए । सचिव शिवलाल केसीले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति डाँगीले समाजलाई तीव्र गतिमा लक्ष्य हासिलतर्फ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise