२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

राजनीतिमा खेलकुद

ADV
२०८१ साउन २० गते ०६:३०
राजनीतिमा खेलकुद

घरेलु मैदान दशरथ रंगशालामा जारी काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा नेपालले पहिलोपटक भारतलाई हराएको छ । दक्षिण एसियाको पावर हाउस मानिने भारत सधैं नेपालको उपाधि यात्रामा बाधक बन्ने गरेको थियो । दशरथ रंगशालामै आएर पनि भारतले दुईपटक नेपाललाई हराएको थियो । तर शनिबार समूह चरणको खेलमा भारतलाई ३–२ को सेटमा हरायो । यो ऐतिहासिक जित खेल क्षेत्रका निम्त अर्थपूर्ण छ । किनकि भारतलाई हराउँदा नेपाली खेलाडीहरुमा छुट्टै मनोविज्ञान निर्माण हुने गरेको छ । पावर हाउस भएकाले पनि भातरविरुद्ध जित निकाल्नु सजिलो छैन । तर नेपाली महिला भलिबल खेलाडीहरुको उत्कृष्ठ प्रदर्शनीले जित निकाल्न संभव भयो । 

यो जितको उत्साह आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र खेल चलरिहँदाको दर्शकबाटै बुझ्न सकिन्छ । इन्डोर खेल भएपनि दर्शकको भीडले खेलाडीहरुलाई उत्साह थपेको थियो । खेलाडीहरुको प्रर्दर्शनले दर्शक तथा समर्थक संख्या बढाएको थियो । विशेषगरी सामाजिक सञ्जाल हेरेर भारतविरुद्ध नेपालले निकालेको जितलाई मूल्यांकन गर्न सकिन्छ । खेलप्रति सरोकार राख्नेहरुले मात्र नभएर एउटा ठूलो राजनीतिक पंक्तिले समेत खुलियाली मनाएको सामाजिक सञ्जालमा देख्न सकिन्छ । युवा तथा खेलकुद मन्त्रीसँगै खेल हेर्न रक्षा मन्त्री मानवीर राई सहित भीभीआईपी रंगशाला नै पुगेका थिए । अरु शीर्ष नेताहरुले पनि सामाजिक सञ्जालमा बधाई दिएका छन् । यी दृष्यहरु खेलप्रति बदलिएको दृष्टिकोण बुझ्ने उदाहरण हो । किनकि खेल आफैमा राजनीति बनिरहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानमा ३६५ दिनभित्र फ्लड लाइट जोड्ने निर्णय पहिलो मन्त्रिपरिषद् बैठकबाट गरेका थिए । घरेलु मैदान खेल चल्दा कीर्तिपुर पुग्ने नेताहरु नेपालका अरु खेल हेर्न विदेशी भूमि पुग्न थालेका छन् । एसिया कप क्रिकेट हेर्न पूर्व गृहमन्त्री रवि लामिछाने श्रीलंका नै पुगेका थिए । अरु नेताहरु पनि खेल हेर्न मैदान पुग्ने र सामाजिक सञ्जालमा बधाई दिन होडमै उत्रने गरेका छन् । यसको अर्थ खेलभित्र राजनीति हुने प्रवृत्ति बदलिएर अहिले जनमत आफ्नो पक्षमा पार्न समेत खेलमा आफूलाई संलग्न गराउने देखिन थालेको छ । यो सकारात्मक कुरा नै हो । तर लोकप्रियताका लागि मात्रै गरिने प्रचारले खेल क्षेत्रलाई अगाडि बढाउन सहयोग पुग्दैन । त्यसका निम्ति खेल क्षेत्रभित्र राजनीति अन्त्य नै हुन जरुरी छ भने खेललाई देखाएर गरिने राजनीति पनि हुनु हुन्न । बरु खेल क्षेत्रको दीर्घकालीन विकासका निम्ति गुरू योजना बनाएर अगाडि बढ्न जरुरी छ । खेलाडीहरुले खेल क्षेत्रमा भविष्य देख्न थाले भने यो क्षेत्र आफै विकसित भएर जानेछ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise