काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संघको संस्थागत पहलमा सबै वैदेशिक रोजगार व्यवसायीहरूको इजाजतपत्र नवीकरणको पहल भइरहेको भन्दै परस्परमा भ्रम दुविधा हुने गतिविधि नगर्न वैदेशिक रोजगार व्यवसायीहरूलाई आग्रह गरेको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वार्षिकरूपमा एक सय जना कामदार पठाउन नसकेका वैदेशिक रोजगार कम्पनीको विवरण संकलन गरिरहेको छ भने नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले संख्या सय समस्या समाधानका लागि पार्टीका नेताहरू ज्ञापनपत्र बुझाउँदै समस्याको सकेसम्म छिटो समाधान दिन माग गरिरहेको छ ।
शुक्रबार साँझ मध्यान्हसँगको कुराकानीमा संघका संयोजक विमल ढकालले म्यानपावर कम्पनीको इजाजत नवीकरण गर्न लगातार दुई आर्थिक वर्षसम्म वार्षिक सय जना कामदार पठाउन नसकेको अवस्थामा इजाजतपत्र रद्द गर्ने र वैदेशिक रोजगार नियमावलीमा पनि इजाजत नवीकरण गर्न वार्षिक सय जना कामदार वैदेशिक रोजगारमा पठाउन श्रम स्वीकृति लिएको हुनुपर्ने गरी गरिएको बाध्यात्मक व्यवस्था परिवर्तन गराउन उच्चतम पहल भइरहेको बताए ।
‘वैदेशिक रोजगार ऐन कार्यान्वयनमा समस्या उत्पन्न भई बाधा परेमा त्यसको निकासका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट रायसहितको टिप्पणी उठाएर कानून मन्त्रालयको राय लिएर मन्त्रिपरिषद्मा पेश गरेर बाधा अड्काउ आदेश जारी गर्ने पहल भइरहेको छ,’ संयोजक ढकालले भने, ‘संघले गरेकोे पहलले श्रम मन्त्रालयबाट कानून मन्त्रालयमा फाइल पुग्ने तयारीमा छ, यस्तो अवस्थामा भ्रम उत्पन्न हुने गरी अन्यत्र गरिने भेटघाट र सामाजिक सञ्जालमा सस्तो लोकप्रियताका लागि गरिने प्रचार प्रसारको अर्थ छैन ।’
‘समस्याको समाधान श्रम मन्त्रालयका सचिव, मन्त्रालयका मन्त्री, मुख्य सचिव वा प्रधानमन्त्रीसँग छलफलपछि मात्र आउने हो, तर यी व्यक्तिहरूको छाँयासमेत देख्न भेट्न नपाउनेहरूसँग गरिने छलफलले समस्याको समाधान भन्दा परिस्थितिलाई अन्यत्रै मोड्न नकारात्मक भूमिका खेल्ने खतरा हुन्छ,’ संयोजक ढकालले अगाडि भने, ‘परिस्थिति बिग्रन सक्ने विषयमा व्यवसायीहरू गम्भीर र संवेदनशील हुन आवश्यक देखिएको छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies